नेपालगञ्ज, १८ फागुन । तीन वर्षअघिसम्म कोरोना महामारीका कारण शून्यमा झरेको नेपालगञ्जका ठूला सुविधा सम्पन्न होटलको कारोबारले गति समात्न थालेको छ ।
नेपालगञ्जलाई पर्यटन गन्तव्यको केन्द्र बनाएर कैलाशमानसरोबर, बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज, प्युठानको स्वर्गद्धारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे-फोक्सुण्डो ताल जाने पर्यटकका लागि नेपालगञ्जमा खुलेका पाँचतारेसहितका सुविधा सम्पन्न होटलहरु फेरी चलायमान भएका छन् ।
होटल व्यवसायी संघ, बाँकेका अध्यक्ष रंगबहादुर खड्काका अनुसार, डेढ दशक यता नेपालगञ्जमा पाँचतारे, चार तारे र तीन तारे सहितदर्जन बढी सुविधा सम्पन्न होटल सञ्चालनमा आएका छन् । सोल्टी, स्नेह, सिद्धार्थ, सिटी प्यालेस लगायत सुविधा सम्पन्न होटलले विशेषतः भारतीय पर्यटकलाई आधार बनाएको पाइन्छ । ‘पछिल्लो सयम लगभग थला परेको अवस्थामा पुगेका नेपालगञ्जका ठूला मात्र हैन स-साना होटल र पर्यटन व्यवसायले पनि अहिले गति लिन थालेको छन्’-अध्यक्ष खड्काले भन्नुभयो ।
तर, केहि तारे होटलहरु चल्न नसकेर बन्द भएका नमिठो अवस्था पनि छ भने नयाँ होटल थपिने क्रमको सुखद पक्ष पनि देखिएको छ । पछिल्लो समय सिग्नेट इन कृष्णा र किचन हट जस्ता सुविधा सम्पन्न होटल बन्द भए भने डायमण्ड होटलको निर्माण करिब करिब सम्पन्न भई सञ्चालनको तयारीमा रहेको छ ।
यसैबीच, नेपालगञ्जको खजुरारोडमा पाँचतारे होटल ‘पौवा’ निर्माण हुने भएको छ । विश्वबजारमा नेपाली हस्पिटालिटीको ब्राण्डिङ गर्ने लक्ष्य सहित ७ वर्ष अघि स्थापना भएको होटल पौवाले नेपालगञ्जमा आफ्नो १३ औं शाखा सञ्चालन अन्तर्गत होटल निर्माण गर्न लागेको हो । यो होटल निर्माणको शिलान्यास शुक्रवार भएको छ । दुई वर्षमा यो होटल निर्माण हुने सञ्चालकहरुले बताएका छन् ।
नेपालगञ्ज खजुरारोडस्थित करिब दुई विगाहा क्षेत्रफलमा निर्माण शुभारम्भ गरिएको १०० कोठे उक्त होटल करिब रु एक अर्बको लागतमा निर्माण हुने बताइएको छ । होटल पौवा प्रालिका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले होटल पौवा नेपाली होटल तथा रेष्टुरेण्ट क्षेत्रमा नौलो प्रयोग हुने दाबी गर्नुभयो । ‘होटलमा प्रवे्श गरेदेखि बाहिरिँदासम्म नेपाली स्वाद, नेपाली संस्कृति र नेपालीपन् महसुस् हुनेगरि होटलले सेवा दिनेछ’-अध्यक्ष भण्डारीले भन्नुभयो ।
साविकको सुदुरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको व्यापारीक तथा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाको केन्द्रका रुपमा रहेको नेपालगञ्जका होटल व्यवसायी राज्यको नयाँ शासकिय संरचनाले पारेको अप्ठ्यारोवाट नराम्ररी थिचिन पुगेका थिए । सुदुरपश्चिममा छुट्टै प्रदेश हुनु तथा मध्यपश्चिम क्षेत्र लुम्बिनी प्रदेश हुनु र यसको राजधानी वुटवल (पछिल्लो समय भालुबाङ्ग) हुनुले विगतमा नेपालगञ्जका होटल व्यवसायी थला परेका जस्तै भएका थिए ।
अहिले आएर नेपालगञ्जमा होटल व्यवसायले गति समात्दै गर्दा नेपालगञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको व्यापकता बढाउनुपर्ने खाँचो देखिएको छ । तर, बिडम्बना नै भन्नुपर्छ नेपालगञ्जमा पर्यटकको व्यापकता बढाउनुतर्प राज्यका निकाय खासै जिम्मेवार र क्रियाशिल देखिएका छैनन् ।
नेपालगञ्जमा सानो भएपछि पर्यटक भित्राउन सक्ने संरचना अहिले बन्द हुन थालेका छन् । यसका राज्यको ध्यान पुग्न नसकेको नेपाल एशोसिएशन ट्राभल एण्ड टुर एजेण्ट्स (नाटा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल बताउनुहुन्छ । नेपालगञ्जको मेरो प्लानेट बन्द भइसकेको छ भने फनपार्कको अवस्था पनि अत्यन्तै नाजुक देखिएको छ । अर्को ठूलो महत्वाकांक्षी योजना वाटरपार्कको विस्तार कछुवाको गतिमा भइरहेको छ । त्यस्तै नेपालगञ्जकै रानी तलाउ पनि बन्द भइसकेको छ भने कान्तिताल बर्षौदेखि निर्माणकै क्रममा रहेको छ ।
नेपालगन्जको होटल तथा पर्यटन व्यवसाय मूलतः भारतीय पर्यटकले धानेको छ । यहाँको होटलहरु निकै स्तरीय छन् । तर, यसलाई पर्यटन व्यवसायसंग जोड्न नसकेकाले यसको भविष्य भोलिका दिनमा सुखद नरहन सक्छ भन्ने हेक्का सम्बद्द पक्षले बुझ्न जरुरी देखिएको छ । नाटा अध्यक्ष सिग्देल भन्नुहुन्छ, ‘हामीले त पर्यटकका लागि आवश्वयक पूर्वाधारको ब्राण्डिङ्ग मात्र गर्ने हो’, अध्यक्ष भन्नुहुन्छ—‘होटल र पर्यटन व्यवसाय एकअर्काका पूरक बन्नसक्नुपर्छ र आपसमा जोडिनुपर्छ ।’