नेपालगञ्ज, १९ फागुन । बर्दियाको गुलरिया नगरपालिकाका न्यायिक समितिका पदाधिकारी, जनप्रतिनिधि र कर्मचारीहरुका लागि ‘स्थानीय सरकार सञ्चालन तथा ब्यवस्थापकीय आयाम’ बिषयक एकदिने तालिम सम्पन्न भएको छ । गुलरिया नगरपालिकाको आयोजना, सिआइजीपी को सहकार्य र बास नेपालको सहजिकरणमा तालिम सम्पन्न भएको हो ।
गुलरिया नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक सावित्रा गौतमको अध्यक्षतामा भएको तालिममा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त तथा नेपाल सरकारका पुर्व सचिब कृष्णहरि बास्कोटाले स्थानीय सरकार सञ्चालन, न्यायिक समितिको काम, कर्तब्य र अधिकार, सुशासन, सूचनाको हक, पालिकाकाका काम, कर्तव्य र अधिकार, जनप्रतिनिधि र कर्मचारीका असल गुर्ण, स्थानीय सरकारको प्राथामिक्ता, सकारात्मक सोच, स्थानीय सरकारले गर्नुपर्ने काम, स्थानीय तहका राम्रा अभ्यासहरु, योजना तर्जुमा सिप, स्वव्यवस्थापकीय आयाम, स्थानीय सरकार सञ्चालनसंग सम्बन्धित ऐन, नियम र कानुन लगायतका बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
बास नेपालका केन्द्रीय उपाध्यक्ष शिवकुमार वर्माले सञ्चालन गरेको तालिमको उद्घाटन सत्रमा बासका केन्द्रीय महासचिब खुमेश सुवेदीले स्वागत गरेका थिए भने बासका कार्यकारी निर्देशक नमस्कार शाहले तालिमको उद्देशयमाथि प्रकाश पार्नुभएको थियो ।
तालिम समापन समारोहमा गुलरिया नगरपालिका उपप्रमुख सावित्रा गौतम र नगरपालिका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहले तालिमबाट जनप्रतिनिधि र कर्मचारीलाइ काम गर्न थप उर्जा मिलेको बताउनुभयो ।
तालिममा गुलरिया नगरपालिका अन्तर्गतका सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य, बिषयगत शाखाका प्रमुख, वडा सचिब, बिद्यालयका प्रधानाध्यापक लगायत ७० जनाको सहभागिता रहेको थियो ।