नेपालगञ्ज, २ साउन । गत आर्थिक वर्षको असार महिनामा बाँके प्रहरीले ६४ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डांगीका अनुसार, पक्राउ परेका प्रतिवादीलाई कानुनी कारवाहीका लागि बाँके जिल्ला अदालतमा बुझाइएको छ ।
यसैगरी, बाँके प्रहरीले गत आर्थिक वर्षको असार मसान्तसम्म रु. ८५ लाख ३६ हजार ८०० मूल्य बराबर भन्सार छलीका अबैध सामान, तस्करीमा प्रयोग गरिएको एउटा भ्यान र तीन थान मोटरसाइकल बरामद गरेको छ ।
बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रवक्ता डांगीले जानकारी दिनुभयो ।
यस्तै अवैध तस्करी रोक्ने क्रममा बाँके प्रहरीले भारतबाट अबैधरुपमा ल्याइएका रु. एक लाख ६० हजार मूल्य बराबरका ब्रोइलर कुखुराको चल्ला बरामद गरेर गरेको छ भने ट्राफिक कारबाहीतर्फ दुई हजार ७५४ सवारी साधनलाई गरी सो वापत संकलन गरिएको रु. २१ लाख ४९ हजार ५०० राजश्व संकलन गरेको छ ।
प्रवक्ता डांगीका अनुसार, जिल्ला प्रहरी कार्यालयमा असार महिनाभर दर्ता भएका १४५ वटा मुद्दामा ९१ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको छ भने ५४ वटा अगाडीका मुद्दालाई फर्छ्यौट गरिएको छ ।