नेपालगञ्ज, १५ पुस । अंग्रेजी नयाँ वर्ष २०२६ का अवसरमा नेपालगञ्जको होटेल पौवाले नयाँ वर्ष उत्सव कार्यक्रम आयोजना गर्नेभएको छ । । नेपालगञ्जको खजुरा रोडमा निर्माणाधिन पाँच तारे होटल पौवाले भोलि बुधवार राति ७ बजेदेखि १२ बजेसम्म ‘‘न्यु इयर इभ’ आयोजना गर्न लागेको हो ।
पौवाले आज गरेको पत्रकार सम्मेलनमा प्रबन्धक गिरीराज पाण्डेले नयाँ वर्ष उत्सवमा करिब चार हजार दर्शकका लागि व्यवस्थापनसहितको तयारी गरिएको जानकारी दिनुभयो । देशभर १७ वटा शाखाबाट सेवा दिइरहेको पौवाले नेपालगनञ्जमा पहिलो न्यु इयर इभ गर्न लागेको पाण्डे बताउनुभयो ।
उत्सवमा प्रवेश निशुल्क राखिएको छ भने रु १ सयदेखि ग्राहकले सेवा लिनसक्ने गरि व्यवस्था गरिएको छ । उत्सवमा नेपाल आइडल करन परियार, गायक निशान भट्टराई र सदिक्षा कट्टेलसहित बाँके कला केन्द्रको संयोजनमा बिबिध साँगितिक कार्यक्रमको प्रस्तुती हुने जनाइएको छ । उत्सवमा क्याम्प फायरदेखि उत्कृष्ट परिकारको व्यवस्था गरिएको प्रबन्धक पाण्डेले बताउनुभयो । ‘पूर्ण पारिवारिक वातावरणसहितको उत्सवमा परिवारसहित आइदिन पौवाले सबैलाई निम्ता गरेको छ ।
‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूलमन्त्रका साथ नेपालका लागि नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरी स्थापना भएको होटल पौवाले नेपाली चाडपर्वहरुमा मौलिक संस्कतिमा आधारित स्वाद सहितको कार्यक्रम गर्दै आएको छ ।
पत्रकार सम्मेलनमा पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले पौवाले नौलो पहिचानका साथ ग्राहकमैत्री सेवा दिन सकेकोमा खुशी व्यक्त गर्नुभयो ।
होटल पौवाकोे नेपालगन्जमा सञ्चालित शाखामा फरक फरक स्वाद र परिकारका पाँच वटा रेष्टुरेन्ट, चार वटा ठुलो सभा हलसहित १४ वटा बैठक कक्ष, सात वटा स्विट रुमसहित ८० वटा डिलक्स रुम उपलब्ध हुनेछन् । यसैगरी होटल पौवा नेपालगनञ्जमा नौ तला सहितको एउटै छानामुनी क्यासिनो, स्पा, स्विमिङ, जिम सुविधा रहने प्रबन्धक पाण्डेले बताउनुभयो ।








