बर्दिया, १८ कात्तिक । बालबालिका, किशोरकिशोरी तथा युवाहरू को नेतृत्व क्षमता, आत्मविश्वास, अभियान सञ्चालन तथा पैरवीसम्बन्धी सीप अभिवृद्धि गर्ने उद्देश्यले गुलरिया नगरपालिकामा दुईदिने नेतृत्व विकास, अभियान तथा पैरवीसम्बन्धी तालिम सम्पन्न भएको छ।
प्लान नेपाल, बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्र को साझेदारीमा सञ्चालित सुरक्षित भविष्य परियोजनाअन्तर्गत आयोजित उक्त तालिममा गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकाका बालबालिका, किशोरकिशोरी तथा युवाहरूको सहभागिता रहेको थियो ।
तालिममा परियोजना संयोजक गोविन्दप्रसाद लामिछानेले कार्यक्रमको उद्देश्य, विषयवस्तु तथा बालबालिका र युवाहरूको नेतृत्व विकास बारे सहभागीलाई अभिमुखीकरण गर्नुभएको थियो ।
संयोजक लामिछानेका अनुसार, तालिममा प्रभावकारी अभियान सञ्चालन तथा जनवकालत, नेतृत्व विकास र नेतृत्वदायी क्षमता, पैरवी तथा वकालत, बालबालिका तथा युवाहरूको अर्थपूर्ण सहभागिता, बालअधिकारका सवालहरू तथा नीतिगत तहमा आफ्ना आवाज र सरोकारहरू प्रभावकारी प्रस्तुतीका विषयमा समेत जानकारी गराइएको थियो।
तालिमको सहजीकरण विनय दिल लामाले र कार्यक्रम सञ्चालन नग्मा सिद्दिकीले गर्नुभएको थियो ।
तालिमले सहभागीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास, प्रभावकारी सञ्चार तथा अभियान सञ्चालन र पैरवीसम्बन्धी सीप अभिवृद्धि गर्नुका साथै आफ्ना अधिकार, सवाल र सरोकारका विषयमा निर्भीकतापूर्वक आवाज उठाउन थप प्रेरित गर्ने विश्वास लिइएको छ। साथै, बालबालिका तथा युवाहरूलाई आफ्नो समुदायमा विद्यमान सामाजिक चुनौतीहरूको पहिचान, समाधानका लागि सामूहिक पहल तथा सकारात्मक परिवर्तनको नेतृत्व गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ।






