कोहलपुर(बाँके), ५ पुस । बाँकेको कोहलपुरमा आयोजना हुने कोहलपुर महोत्सव–२०८२ लाई भव्यरुपमा सफल बनाउन कोहलपुर नगरपालिकाका १५ वटै वडाका वडा अध्यक्षहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् ।
कोहलपुर उद्योग वाणिज्य संघको सभाहलमा आज भएको छलफल कार्यक्रममा सहभागि वडाध्यक्षहरूले महोत्सवलाई सबैको साझा उत्सवका रूपमा अपनत्व लिनुपर्नेमा जोडसमेत दिएका छन् । उनीहरुले महोत्सवलाई सफल बनाउन आप्नोतर्पmवा सक्रिय र सहयोगी भूमिका खेल्ने प्रतिबद्धता पनि दोहोर्याएका छन् ।
वडा अध्यक्षहरूले महोत्सव केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई स्थानीय अर्थतन्त्र चलायमान बनाउने महत्वपूर्ण अवसर भएकाले यो कोहलपुरका लागि सुवर्ण अवसरका रुपमा रहेको उल्लेख गरे ।
कार्यक्रममा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक प्रदिप भट्टराईले महोत्सव सफल बनाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
अध्यक्ष भट्टराईका अनुसार, कोहलपुर उद्योग वाणिज्य संघको आयोजनामा पुस ९ देखि १८ गतेसम्म कोहलपुरको न्यूरोड खुल्ला मैदानमा महोत्सव आयोजना हुने भएको छ । ‘महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्घाटन गर्नुहुनेछ’—भट्टराईले भन्नुभयो ।








