बर्दिया, २५ मंसिर । बर्दियाको राजापुर नगरपालिका वडा नं. ४ मा रहेको ‘हमार थारु घर एण्ड रेष्टुरेन्ट’ मा निरज चौधरीको हत्या गरेको भनिएका महावीर चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया, इलाका प्रहरी कार्यालय राजापुरवाट खटिएको प्रहरी टोलीले महावीरलाई कैलालीको कैलारी गाउँपालिका वडा नं. १ मझरा गाउँमा लुकेर बसेको अवस्थामा आज पक्राउ गरेको हो ।
तुलसीपुर वडा नं. ६ का ५१ वर्षीय महावीरले मंसिर २० गते बिहान आफ्नै होटलमा दाङ तुलसीपुर वडढा नं. ६ कै २८ वर्षीय निरज चौधरीमाथि गोली प्रहार गरी हत्या गरेका थिए । मृतक निरज र महावीर नाताका आफन्त रहेको प्रहरीले जनाएको छ ।
प्रहरी अनुसन्धानले महावीरले निरजलाई ‘तल्लो बाटो’ प्रयोग गरी अमेरिका पठाइदिने भन्दै विगतमा लाखौँ रुपैयाँ असुलेको र सोही रकम फिर्ता माग्दा विवाद चर्किएपछि उनले गोली प्रहार गरेको पुष्टि गरेको छ । घटनास्थलबाट प्रहरीले पेस्तोलको गोलीको खोका, महावीरको पासपोर्ट तथा भिजा समेत बरामद गरेको थियो । हत्यामा प्रयोग भएको पेस्तोलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।
गोली प्रहारपछि निरज भुइँमा ढले पनि महावीरले नजिकको बर्दिया जिल्ला अस्पतालमा नपुर्याई बाँकेको नेपालगञ्जस्थित सञ्जीवनी अस्पताल पठाएका थिए । अस्पताल पुगेपछि चिकित्सकले निरजलाई मृत घोषणा गरेका थिए । निरजको मृत्यु पुष्टि भएपछि महावीर घटनास्थलबाट फरार भएका थिए ।
यस घटनामा महावीरकी साली रामकुमारी थारु, उनका श्रीमान बुद्धि थारु तथा २२ वर्षीय छोरा राहुल थारुलाई प्रहरीले सोही दिन नियन्त्रणमा लिएको हो । घटनास्थलको प्रमाण मेटाउने, सरसफाई गर्ने लगायत क्रियाकलापमा उनीहरूको संलग्नता रहेको प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रवक्ता प्रकाशसिंह कार्कीले बताउनुभयो ।








