नेपालगञ्ज, १८ भदौ । निजी तथा आवासीय विद्यालयका विभिन्न संगठनहरुले आज देशभर खबरदारी सभा गरेका छन् । केन्द्रीय कार्यक्रम अन्तर्गत सरकारलाई दबाब दिन नेपालगनञ्ज उपमहानगरपालिका वडा नं. २० राँझामा प्याब्सनसहित नेशनल प्याब्सन, हिसान, अपेन, एनएमएको आयोजनामा खबरदारी सभा गरेका हुन् ।
संघीय संसदमा प्रस्तुत विद्यालय शिक्षा विधेयकमा समावेश कतिपय प्रावधानहरू खारेजीको माग गर्दै आन्दोलित ती संगठनहरुका पदाधिकारीहरुले निजी विद्यालयलाई हेर्ने राज्यको दृष्टिकोण गलत भएको ठहर गरेका छन् ।
प्याब्सनका प्राज्ञिक सदस्य राजेशकेशर खनालले निजी विद्यालयलाई गैरनाफामूलक बनाउने कुरामा कुनै पनि हालतमा सहमत हुन नसकिने बताउनुभयो । राज्यले आफ्ना माग सम्बोधन नगरे निजी विद्यालयहरुले सरकारलाई साँचो बुझाउनुपर्ने अवस्था आउने चेतावनी समेत खनालले दिनुभयो ।
प्याब्सन लुम्बिनी प्रदेश सल्लाहकार ऋषिकेष जिसीले आन्दोलनलाई निर्णायक बनाउनुको विकल्प नभएको बताउदै काठमाडौंमा हुने प्रदर्शनलाई निर्णायक बनाउन सबै उपस्थित हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, प्याब्सन लुम्बिनी प्रदेशका सहसचिव राजेन्द्र आचार्य, प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्य, प्याब्सन नेपालगन्जका अध्यक्ष मानबहादुर थापालगायतले राज्य विरुद्धको यो अस्तित्वको लडाइँ भएकाले निष्कर्षमा नपुगि बिश्राम नलिने चेतावनी दिनुभएको छ ।








