नेपालगञ्ज, २५ साउन नेवाः पुचः बाँकेको आयोजनामा आज नेपालगञ्जमाा सामूहिक गाईजात्रा निकालिएको छ । ‘भाषा, संस्कृति तथा परम्पराको जगेर्ना गरौं’ नाराका साथ सात परिवारले आफ्ना दिवंगत आफन्तहरूको सम्झनामा सामूहिक गाईजात्रा निकालेका हुन् ।
नेपालगञ्जमा कमलादेवी श्रेष्ठ, राधादेवी श्रेष्ठ, सुशीला चुके, दमयन्ती श्रेष्ठ, माधवलाल श्रेष्ठ, केदारप्रसाद श्रेष्ठ र दिपाकुमारी रेग्मी श्रेष्ठको सम्झनामा गाईजात्रा निकालिएको थियो । ।
सुर्खेतरोडवाट निकालिएको गाईजात्रा धम्बोझी चोक, सहिद सेतु विक चोक, न्युरोड हुँदै बागेश्वरी मन्दिर पार्कमा पुगेर समापन गरिएको थियो । गाईजात्रामा नेवारी पोशाकमा सजिएका महिला तथा पुरुषहरूले नेवारी भाषामा गीत, नृत्य तथा लाखे नाच प्रस्तुत गरेका थिए ।
नेवारी समुदायमा एक वर्षभित्र मृत्यु भएका आफन्तहरूको सम्झनामा गाई वा मानिसलाई गाईको स्वरूपमा सजाएर परिक्रमा गराउने परम्परा छ । यसो गर्दा मृतकले गाईको पुच्छर समाई बैतरणी नदी पार गर्दछन् भन्ने जनविश्वास रहिआएको छ ।








