नेपालगञ्ज, २५ साउन । संविधानका पिता, नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको ८५ आंै जन्मजयन्तीका अवसरमा बाँकेको नरैनापुर गाउँपालिकाको मटहैयामा एकदिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
नेपाली काँग्रेस, बाँके र नेपाल स्वास्थ्यकर्मी संघ, बाँकेको सयुक्त आयोजनामा पर्सि साउन २८ स्वास्थ्य शिविर आयोजना गर्न लागिएको हो । काँग्रेसको सामाजिक कार्यक्रम अन्तर्गत दुरदराजका नागरिकलाई घरदैलोमै विशेष सेवा उपलव्ध गराउने योजना अनुरुप स्वास्थ्य शिविर आयोजना गर्न लागिएको पार्टी जिल्ला सभापति नारायणप्रसाद गौडेलले जानकारी दिनुभयो ।
बाँकेको नरैनापुर जिल्लाको सदरमुकाम नेपालगञ्जवाट टाढा रहेको छ भने जिल्लाका अन्य पालिकाको तुलनामा नरैनापुरमा पूर्वाधार वकास, सरकारी निकायको उपस्थिति, शिक्षा, स्वास्थ्यलगायतका सेवाको अवस्था कमजोर रहेको छ । सोही अवस्थालाई दृष्टिगत गरी सो गाउँपालिकालाई स्वास्थ्य शिविर आयोजनाका लागि छनोट गरिएको जनाइएको छ ।
स्वास्थ्य शिविर सञ्चालनका लागि बाँकेका केहि पालिकाहरु र शिखर हेल्थ केयर एण्ड डाइग्लोष्टिक सेन्टर प्रलिले प्राविधिक सहयोग उपलव्ध गराएको नेपाल स्वास्थ्यकर्मी संघ, बाँकेका अध्यक्ष जागेश्वर बस्नेतले बताउनुभयो । शिविरमा मूलतः फिजिसियन, रक्तचाप, मधुमेह, मुटुरोग, स्वासप्रश्वास र मृगौला सम्बन्धि रोगहरुको जाँच तथा परामर्श दिइने छ । शिविरमा शिखर हेल्थ केयर एण्ड डाइग्लोष्टिक सेन्टर प्रलिका डिएम नेफ्रोलोजिष्ट डा. सौरभसिंह हमालसहितको स्वास्थ्यकर्मीहरुले सेवा पुर्याउनु हुनेछ ।
शिविर शुभारम्भका अवसरमा नेपाली काँग्रेस, बाँकेका सभापति गौडेलसहितका पार्टी पदाधिकारी तथा कार्यकर्ताहरु, स्वास्थ्यकर्मी संघका पदाधिकारी तथा सदस्यलगायतको उपस्थिति रहने जनाइएको छ ।








