कोहलपुर(बाँके), २० साउन । कोहलपुर नगरपालिकाले विद्युतको सहायताबाट चल्ने सुधारिएको विद्युतिय चुल्हो लक्षित घरधुरीलाई वितरण गर्न शुरु गरेको छ । आर्थिक अभावका कारण दाउरा बाल्ने चुल्हो प्रयोग गर्ने स्थानीयको स्वास्थ्य सुधार गर्ने उद्देश्यले चुल्हो वितरण गर्न लागिएको कार्यवाहक मेयर संगीता सुवेदीले बताउनुभयो ।
कार्यवाहक मेयर सुवेदीका अनुसार, चालु आर्थिक वर्षमा ५०० चुल्हो वितरण गरिने छ । आज कोहलपुर वडा नं. २ वाट चुल्हो वितरण कार्यको शुरुवात गरिएको छ । उहाँले स्थानीय उर्मिला घर्तिलाई चुल्हो हस्तान्तरण गरि वितरण कार्यको शुरुवात गर्नुभयो । पहिलो चरणमा नगर क्षेत्रका अपांगता, जेष्ठ नागरिक, एकल महिला र आर्थिकरुपमा विपन्न परिवारलाई लक्षित गरेर सुधारिएको चुल्हो वितरण गरिएको र पछि अन्य परिवारलाई समेत कार्यक्रममा समेट्ने नगरपालिकाले जनाएको छ । कार्यक्रममा कार्यवाहक मेयर सुवेदीले चुल्होको सदुपयोग गर्न आग्रह गर्नुभयो ।
कोहलपुर नगरपालिका र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको साझेदारीमा १५ वटा वडामा पहिलो चरण अन्तर्गत ३०÷३० वटाका दरले चुल्हो वितरण गरिनेछ । रु पाँच हजार ९८७ मूल्य बराबरको उक्त चुल्हो केन्द्रको ८० प्रतिशत, पालिकाको १५ प्रतिशत र लाभग्राहीको पाँच प्रतिशत लगानीमा वितरण गरिने जनाइएको छ ।








