काठमाडौं, १९ साउन । उच्च अदालत, पाटनले राजावादी नेता दुर्गा प्रसाईंलाई दुईवटा मुद्दामा धरौटीमा छाड्न आदेश गरेको छ । गत चैत १५ गते काठमाडौंमा गरिएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर गरि दुई मुद्दामा प्रसाईलाई धरौटीमा छाड्न अदालतले गरेको हो ।
उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीले प्रसाईलाई बैंकिङ कसुरमा रु २५ लाख धरौटी मागेको छ । प्रसाई तत्काल निर्दोष छन् भन्न नसकिने भएपनि क्यान्सर रोगबाट पीडित भएकाले अदालतले धरौटीमा छाड्न आदेश दिएको हो ।
यसैगरी, उच्च अदालत, पाटनले १५ चैतमा भएको हिंसात्मक प्रदर्शनसँग जोडिएको मुद्दामा समेत प्रसाईलाई आजै धरौटीमा छाड्न आदेश दिएको छ । उनीविरुद्ध राज्यविरुद्धको कसुर, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।
उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रसाईलाई रु तीन लाख धरौटीमा छाड्ने आदेश गरेको हो ।








