नेपालगनञ्ज, १८ साउन । बाँके युनेस्को क्लबको सह-अध्यक्षमा वरिष्ठ पत्रकार निरज गौतम र सिराज खानलाई मनोनित गरिएको छ ।
हिजो शनिवार नेपालगञ्जमा सम्पन्न क्लबको ११ औ अधिवेशन तथा ३६ औं बार्षिक साधारण सभाबाट प्रवेजअलि सिद्दिकीको अध्यक्षतामा निर्विरोध निर्वाचित नयाँ कार्यसमितिको आज आइतवार बसेको पहिलो बैठकले गौतम र खानलाई सह-अध्यक्षमा मनोनित गरेको हो ।
नवनिर्वाचित अध्यक्ष सिद्दिकीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले बाँके र बर्दियाका वरिष्ठ पत्रकारहरु झलक गैरे, रुद्र सुवेदी, नरेन्द्र थापा, कमल पन्थी, राकेश मिश्र तथा वरिष्ठ समाजसेवीहरु राजु टिबडेवाल, भिमसेन चौधरी र मुजाहिद रजा कादरीलाई सल्लाहकारमा समेत मनोनित गरेको छ ।
बैठकले संस्थाको साधारणसभा तथा अधिवेशन सफल बनाउन कार्यक्रममा उपस्थित हुनुहुने बाँके र बर्दियाका स्थानीय सरकारका प्रतिनिधिहरु, विभिन्न सरकारी र गैरसरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार लगायत सम्पूर्णलाई धन्यवाद दिने निर्णय पनि गरेको छ ।
बैठकपछि अध्यक्ष सिद्धिकीले साधारणसभाले गरेका निर्णयहरुलाई पूरा गर्न कार्यसमितिले निरन्तर सहयोग, अनुगमन र निरीक्षण गर्ने बताउनुभयो । उहाँले साधारण सभामा चालु आर्थिक वर्षमा बर्दियाको एउटा पालिका र पाँच वटा वडालाई बालविवाह मुक्त घोषणा गर्ने तथा तीनवटा टोल वस्तीलाई हरेक घरमा पढाई कुना भएको बस्ती घोषणा गर्ने निर्णय गरेकाको त्यसको कार्यान्वयनमा कार्यसमिति लागिपर्ने जानकारी गराउनुभयो ।








