नेपालगञ्ज, २८ असार । नेपालमा रातमा आयोजना हुने १० किलोमिटर दूरीको नेपालगञ्ज नाइट रनले अन्तर्राष्ट्रिय मान्यता पाएको छ ।
रातमा आयोजना हुने नेपालमै पहिलो नेपालगञ्जको नाइट रन अब विश्व दौड मञ्चमा पहुँच बनाउँदै एसोसिएसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) मा औपचारिकरूपमा आबद्ध भएको छ ।
नेपालगन्ज म्याराथनका संस्थापक तथा एम्सका नेपाल प्रतिनिधि टीएस ठकुरीका अनुसार, संविधान दिवसको अवसर पारेर हरेक वर्ष असोज ३ गते राति सुर्खेतरोडमा आयोजना हुने यो प्रतियोगिता गत वर्षदेखि सुरु गरिएको हो ।
ठकुरीले भन्नुभयो-‘एम्समा आवद्धतासँगै नेपालगनञ्जको दुई इभेन्टहरु ‘धारा नेपालगन्ज म्याराथन’ र ‘नेपालगन्ज नाइट रन’ एम्सको ग्लोबल क्यालेन्डरमा सूचीकृत हुनेछन् ।’

यो आबद्धताले यी दुई इभेन्टलाई मात्र हैन, नेपालगञ्जलाई नै अन्तर्राष्ट्रिय क्षेत्रमा ब्याण्डिङ्ग गरेको छ । नेपालगनञ्ज म्याराथनअन्तर्गत काठमाडौँ २५ के हेरिटेज रन, कर्णाली हाफ म्याराथन र गौघाट ग्रीन रनजस्ता दौडहरू पनि वार्षिक रूपमा सञ्चालन हुँदै आएका छन्। ठकुरीका अनुसार, यी दौडहरूलाई पनि क्रमशः एम्स मान्यता दिलाउने तयारी भइरहेको छ ।
गत महिना काठमाडौँमा आयोजित ‘काठमाडौं २५ के हेरिटेज रेस’ र ‘नेपाल इन्टरनेशनल रनिङ कन्फरेन्स’ का अवसरमा एम्सको बोर्ड बैठकसमेत सम्पन्न भएको थियो। उक्त भ्रमणकै क्रममा एम्स अध्यक्ष तथा स्पेनका नागरिक पाको बोराओले नेपालगनञ्ज म्याराथनको रुट पनि अवलोकन गर्नुभएको थियो ।








