बर्दिया, २३ जेठ । विश्व वातावरण दिवसका अवसरमा बर्दिया जिल्लाको राजापुरमा बाढी कृत्रिम घटना अभ्यास र वृक्षारोपण कार्यक्रम गरिएको छ ।
प्लान इन्टरनेसनल नेपाल, प्राक्टिकल एक्सन, एक्सन एड, बी—ग्रुप, बाँके युनेस्को क्लब, कमैया महिला जागरण संघ र थारु महिला उत्थान संघको सहकार्यमा राजापुर नगरपालिकाले कृत्रिम घटना अभ्यास र वृक्षारोपण कार्यक्रम गरेको हो ।
बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेजअलि सिद्धिकीका अनुसार, राजापुरको बृक्षारोपण र संघर्षनगरमा बाढीवाट जोगिन कृत्रिम घटना अभ्यास गरिएको हो । बाढी पूर्व र बाढी पश्चात मानवीय तथा भौतिक क्षतिलाई कम गर्ने तथा बाढी लगायत अन्य विपदलाई सामुहिक रुपमा कसरी सामना गर्ने भन्ने बिषयमा कृत्रिम घटना अभ्यास गरिएको सिद्दिकीले बताउनुभयो ।
कार्यक्रममा मेयर दिपेश थारुले राजापुर नगरपालिका बाढीको उच्च जोखिममा रहेकाले यसको सामना गर्न स्थानीय सरकार र नागरिकबीच सहकार्य र सहभागिताको खाँचो रहेको छ भन्नुभयो । मेयर थारुले जलबायु परिवर्तनलाई कम गर्न राजापुर नगरपालिकाले एक घर दुई बिरुवा रोप्ने अभियानको पनि थालनी छिटै गर्ने जानकारी गराउनुभयो ।
त्यस अवसरमा राजापुरमा उपमेयर, प्रमुख प्रसासकीय अधिकृत, वडा अध्यक्षहरु, बिषयगत शाखा प्रमुखहरु, विपद फोकलपर्सन, समुदायमा आधारित विपद व्यवस्थापन समिति, समुदायका अगुवा, संघ सस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।