बर्दिया, २३ जेठ । विश्व वातावरण दिवसका अवसरमा बर्दियामा ‘युनाईट फर रिजाइजिलियन्स’ अभियानको औपचारिक सुरुआत गरिएको छ ।
बाँके युनेस्को क्लबले राधाकृष्ण थारु जनसेवा केन्द्र र युवासँगको सहकार्यमा जिएसएस परियोजना अन्तर्गत गल्र्स आउट लोड कार्यक्रम तथा प्लान इन्टरनेशनलसँगको साझेदारीमा वाइ.एस.पी.ए.आर.सी.के परियोजना अन्तर्गत युनाईट फर रिजाइजिलियन्स अभियान सञ्चालन गरिएको हो ।
युवाहरूलाई जलवायु परिवर्तनको चुनौतीलाई प्रभावकारी रूपमा सम्बोधन गर्न, समुदायमा जलवायु सहनशीलताको पक्षमा वकालत गर्न र दिगो भविष्य निर्माणमा नेतृत्व गर्न सशक्त बनाउने अभियानको लक्ष्य रहेको छ । यसका साथै स्थानीय तह, समुदाय र नागरिक समाजमा युवाको सक्रिय सहभागितालाई प्रोत्साहित गर्ने उद्देश्य पनि राखिएको छ ।
कार्यक्रममा जलवायु क्षेत्रमा क्रियाशील राधाकृष्ण थारु जनसेवा केन्द्र, थारु महिला उत्थान केन्द्र, कमैया महिला जागरण समाज, सुन्दर संसार लगायतका प्रतिनिधिहरू तथा किशोर–किशोरीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागि स्थानिय किशोरी क्लबका सदस्यहरूले जलवायु परिवर्तनले पारेका प्रभावहरूको कथा, कविता र चित्रमार्फत सन्देशमूलक सिर्जनाहरु प्रस्तुत गरेका थिए ।
अभियानको शुरुवाती कार्यक्रममा बर्दियाका विभिन्न स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसी, गुलरिया नगरपालिकाकी उपप्रमुख साबित्रा गौतम, मधुवन नगरपालिकाकी उपप्रमुख अनिता चौधरी, गेरुवा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी चौधरी, बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारी, गुलरिया नगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत मुकुन्द अर्याल र मधुवन नगरपालिकाकी महिला विकास अधिकृत इन्दिरा चुनारा उपस्थिति हुनुहुन्थ्यो ।
बाँके युनेस्को क्लबका उपनिर्देशक गोबिन्दप्रसाद लामिछानेले स्वागत गर्नुभएको कार्यक्रममा क्लबकी युवा उपाध्यक्ष निर्जला रिजाल र अभियान संयोजक सुरुची शाहीले सहजीकरण गर्नुभएको थियो ।