नेपालगञ्ज, २० जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालको राजसंस्था संवैधानिक बन्नै नसक्ने बताउनुभएको छ ।
आज नेपालगञ्जमा आयोजित नेपाली कांग्रेस, बाँके क्षेत्र नं. २ को तेस्रो क्षेत्रीय सम्मेलन उद्घाटन समारोहमा महामन्त्री थापाले अब नेपालमा प्रजातन्त्र कि राजतन्त्र भन्ने दुई विकल्प छ भन्दै युवाहरुलाई राजतन्त्र जनहित र देशहितमा स्थापित हुनै नसक्ने तर्क राख्नुभयो ।
महामन्त्री थापाले कांग्रेस मुलुकको सबैभन्दा ठूलो जिम्मेवार राष्ट्रिय शक्ति भएको इतिहासले प्रमाणित गरिसकेको उल्लेख गर्दै अहिले देखिएको उकुसमुकुसबाट मुलुकलाई बाहिर निकाल्ने गरी कांग्रेस अघि बढ्न जरुरी छ भन्नुभयो । ू
उहाँले पार्टीभित्र सबै नेता कार्यकर्ताको हैसियत एउटै भएको जिकिर गर्दै जिम्मेवारी र भूमिका मात्रै फरक रहेको बताउनुभयो । महामन्त्री थापाले कुनै कारणले पार्टी छोडेर गएकाहरुलाई पुनः पार्टीमा फर्कन आह्वान समेत गनुभयो ।
क्षेत्रीय सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु मधु आचार्य र मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, बाँके सभापति नारायणप्रसाद गौडेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सम्मेलनमा सभाध्यक्षको आसनवाट क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ताले राजनीतिक तथा सांगठनिक प्रतिवेदन, प्रदेश सभा ‘क’ का सभापति ज्ञानेन्द्रकुमार चौधरीले ‘ख’ का सचिव रोशनकुमार श्रेष्ठले सांगठनिक प्रतिवेदन र प्रदेश सभा क्षेत्र ‘ख’ का कोषाध्यक्ष ललितकुमार रौनियारले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । क्षेत्रीय सचिव सुनिलसिंह हमालले कार्यक्रम संचालन गर्नुभएको थियो ।
यसैबीच, विंसं २०७९ को निर्वाचन अघि नेपाली कांग्रेसकै राजनीतिमा सक्रिय नेताद्वय चन्तराम थारु र लक्ष्मण थारु पुनः कांग्रेसमा फर्किएका छन । महामन्त्री थापाले दुबै जनालाई पुनः पार्टी प्रवेश गराउनुभएको हो । चन्तराम थारु नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष र लक्ष्मण थारु सोही पार्टीका उपाध्यक्ष हुनुहुन्थ्यो ।
त्यस अवसरमा महामन्त्री थापाले नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले प्रकाशन गरेको २०८२ सालको भित्तेपात्रो पनि विमोचन गर्नुभयो । सम्मेलन स्थलमा स्वास्थ्यकर्मी संघ बाँकेको टोलीले ३२५ जनाको निशुल्क स्वास्थ्य जाँच गरेको थियो ।
२०४८ देखि २०५१ को तीन वर्ष आर्थिक दृष्टिकोणले सुनौलो वर्षः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले २०४८ देखि २०५१ को अवधि आर्थिक उपलब्धिका हिसाबले नेपालको सुनौलो वर्ष भएको बताउनुभएको छ ।
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेले आज नेपालग्ञ्जमा गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री महामन्त्री थापाले आर्थिक उदारीकरणको प्रारम्भ २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको कांग्रेस सरकारले शुरु गरेका कारण उक्त तीन वर्ष सुनौलो वर्षका रुपमा दर्ज भएको दाबी गर्नुभयो ।
महामन्त्री थापाले २०५१ सालमा रोकिएको आर्थिक उदारीकरणलाई थप उदार बनाएर लैजानुपर्नेमा जोड समेत दिनुभयो । उहाँले भन्नुभयो—‘मुलुकमा उत्पादन र रोजगारी सिर्जना गर्न निजी क्षेत्रकै भूमिका रहेकाले त्यसै अनुसारको नीति अख्तियार गर्नुपर्छ ।’
प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँकेका अध्यक्ष संजय थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय मधु आचार्य र मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, बाँके सभापति नारायणप्रसाद गौडेल लगायत उद्योगी, व्यवसायीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रममा उद्योगी व्यवसायीहरु कन्हैयालाल बैद्य, टंकप्रसाद शर्मा, लक्ष्मणराज पौडेल, मनप्रसाद आचार्य, सूर्य गौडेल, अशोक गौडेल, राजु रिजाल, गोपालप्रसाद गिरी, अर्थशास्त्री डा. राजेशकेशर खनाल, डा. अवनिन्द्र मिश्र लगायतले महामन्त्री आर्थिक पक्षका विभिन्न विषयमा जिज्ञासा राख्नुभएको थियो । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका सचिव हिमनाथ पौडेलले कार्यक्रम संचालन गर्नुभएको थियो ।