नेपालगञ्ज, १३ जेठ । बाँकेको डुडुवा गाउँपालिकाले किसानलाई अनुदानमा धानको बीउ वितरण गरिएको छ । पालिकाले यस वर्षदेखि आफेैले तयार गरेको उन्नत जातको बीउ वितरण गरिरहेको कृषि शाखा प्रमुख सुशीलकुमार शर्माले बताउनुभयो ।
कृषि शाखा प्रमुख शर्माका अनुसार, पालिकाले ५० प्रतिशत अनुदानमा १२० क्विन्टल उन्नत जातको र ८० क्विन्टल मूल वीउ किसानलाई सहकारी समुहमार्फत वितरण गरिरहेको छ ।
कूल दुई हजार ५८० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको डुडुवामा पालिकाको उत्पादन एक हजार ४०० हेक्टरका लागि मात्र पुग्ने जनाइएको छ । नपुग धानको बीउ किसानहरुले अन्यत्रवाट खरीद गर्नुपर्छ ।
पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले पहिलो पटक धानको बीउ तयार गरेको पालिकाले यसवर्षदेखि गहुँको बीउ पनि प्रशोधन गर्ने तयारी गरिरहेको बताउनुभयो । अहिले गहँु बालीको प्राविधिकमार्फत ल्याब परिक्षण गर्ने कार्य भईरहेको छ । डुडुवामा करिब ९० प्रतिशत किसान खेतीपातीमा निर्भर रहेकाले पालिकाले किसानको सहजताका लागि बीउ उत्पादन गरी घरसम्म पु¥याउने लक्ष्यका साथ विशेष कार्यक्रम ल्याएको छ ।