नेपालगञ्ज, १३ जेठ । नेपाल स्वास्थ्यकर्मी संघ, बाँकेको टीम मैत्रीपूर्ण फुटबल प्रतियोगितामा ६-१ गोलले विजयी भएको छ । नेपाल प्रेस युनियन आवद्ध बाँकेका पत्रकारसंग आज बिहान भएको खेलमा स्वास्थ्यकर्मी संघ विजयी भएको हो ।
नेपाल प्रेस युनियन, बाँकेको ३४औं स्थापना दिवसको अवसरमा भएको उक्त मैत्रीपूर्ण प्रतियोगितामा स्वास्थ्यकर्मी तर्फबाट दिवस अधिकारी, एकेन्द्र कठायत, तारा ओली, नवीन बिसी, सन्जिव चौधरी र सन्देशबहादुर शाहीले गोल गरका थिए भने प्रेस युनियनका तर्फबाट सुनिल रेग्मीले गोल गरेका थिए ।
यसअघि मैत्रीपूर्ण फुटबल प्रतियोगिताको नेपाली काँग्रेस, बाँकेका सभापति नारायण प्रसाद गौडेलले उद्घाटन गर्नुभएको थियो । त्यस अवसरमा सभापति गौडेलले अनुशासन, स्वास्थ्य, राष्ट्रको पहिचानका लागि खेलकुद अपरिहार्य भएको बताउनुभयो ।
त्यस अवसरमा नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष एवम् नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव नवीन गिरीले बिश्व समुदायमा लोकतन्त्रबादी पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियनको छुट्टै पहिचान रहेको उल्लेख गर्नुभयो । लोकतन्त्रबादी पत्रकारहरुले मुलुकमा भएका महत्वपूर्ण परिवर्तनमा अहंम भूमिका निर्वाह गरेको स्मरणसमेत गर्नुभयो ।
युनियनका जिल्ला अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता उद्घाटन समारोहमा युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष प्रेम केसी, नेपाली काँग्रेस, बाँकेका सल्लाहकार नीरजकुमार गौतम, लुम्बिनी प्रदेश सदस्य गौरव गिरी, निवर्तमान बाँके अध्यक्ष अर्जुन ओली, नेफाका लुम्बिनी प्रदेश सचिव नरेश श्रेष्ठ, स्वास्थ्यकर्मी संघ बाँकेका सचिव तेज ओली लगायतको उपस्थिति थियो ।
युनियनका सचिव भीष्म लोधले संचालन गरेको सो कार्यक्रममा स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष जागेश्वर बस्नेतले स्वागत मन्तव्य दिएका थिए ।