नेपालगञ्ज, १० जेठ । योग समिति नेपालको सातौं वर्ष प्रवेशका अवसरमा आज नेपालगञ्जमा प्रभातफेरी तथा योग साधना कार्यक्रम गरिएको छ ।
नेपालगञ्ज बजारका विभिन्न क्षेत्रको परिक्रमा गर्दै निकालिएको प्रभातफेरीमा योगको महत्व बारे नागरिकमा जागरण ल्याउने सन्देश प्रवाह गरिएको थियो । प्रभातफेरी बीपी चोकमा पुगेर सभामा परिणत भएको थियो । सभामा प्रतिनिधि सभा सदस्य एवम् नेपालगञ्जका पूर्व मेयर डा. धवलशम्शेर राणाले मानिसलाई तन र मनले स्वस्थ्य रहन योग अपरिहार्यको भएको धारणा राख्नुभयो ।
रााणाले नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको योग समिति नेपालको भवन निर्माणका लागि आफ्नो एक महिनाको तलब उपलव्ध गराउने उद्घोष समेत गर्नुभयो ।
योग समिति नेपालका अध्यक्ष योगगुरू गिरीराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख नन्दकुमार पोखरेल, नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा. रूपानन्द अधिकारी, डा. बिनोद थापा, डा. कल्पना थापालगायतको उपस्थिति रहेको थियो ।
त्यस अवसरमा विभिन्न १२ बिद्यामा उत्कृष्ट कार्य गरेका सदस्य, शुभचिन्तक तथा सहयोगीहरुलाई सम्मान गरिएको थियो भने डा. थापाले योग समिति नेपालको भवन निर्माणका लागि रु एक लाख १० हजार उपलव्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा सहभागिहरुलाई योग विद्याको साधनामा सहभागि गराइएको थियो ।