नीरज गौतम/नेपालगञ्ज, ५ जेठ । कोहलपुर नगरपालिकाका किसानलाई कृषि उपकरण खरीदमा ५० प्रतिशत अनुदान दिइएको छ । कोहलपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०८१-०८२ को विनियोजित बजेटवाट कृषकहरुलाई कृषि उपकरण खरीदमा अनुदान दिइएको हो ।
नगरपालिकाले कृषि पेशामा आवद्ध भएकाहरुलाई अहिलेसम्म १९ वटा मिनिटिलर उपकरण वितरण गरेको कृषि प्राविधिक यज्ञबहादुर रोकायले जानकारी दिनुभयो । नगरपालिकामा आज भएको कार्यक्रममा मेयर पूर्णप्रसाद आचार्यले १ देखि वडा नं. १५ सम्मका कृषक, कृषि फार्म, कृषक समूह, केही कृषि सहकारीलाई मिनिटिलर उपकरण प्रदान गर्नुभयो ।
कोहलपपुर नगरपालिकाले यसअघिसाना सिंचाई प्रबद्र्धन कार्यक्रम अन्तर्गत अनुदान सहयोगमा ८० वटा पम्पसेट वितरण गरेको थियो । कृषि प्राविधिक रोकायका अनुसार, एउटा मिनिटिलरको मूल्य रु १९ हजार र एउटा पम्पसेटको मूल्य रु नौ हजार पर्छ । यी दुवै उपकरण खरीदमा ५० प्रतिशत अनुदान दिइएको छ ।
कृषि उपकरण वितरण कार्यक्रममा मेयर आचार्यले कृषि पेशालाई आधुनिकीकरण गर्न किसानहरुलाई सहयोग गर्ने नीति लिइएको बताउनुभयो । मेयर आचार्यले किसानलाई उच्च प्राथमिकतामा राखेर कोहलपुर नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्दै आएको छ भन्नुभयो ।
कार्यक्रममा उपमेयर संगीता सुवेदी, आर्थिक विकास समिति संयोजक अनिता बुढाक्षेत्रीलगायतले पनि बोल्नुभएको थियो ।