नीरज गौतम/नेपालगञ्ज, ४ जेठ । नेपालगञ्ज उपमहानगरपालिकालाई आज एक समारोहका बीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरका सबै २३ वटै वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएसँगै पालिकालाई पनि आज दिगोपना घोषणा गरिएको हो ।
नेपालगञ्जमा १६ महिनादेखि २३ महिना र १६ देखि ५९ महिनाका सबै बालबालिकाले १५ महिनाभित्र लगाउनुपर्ने खोप लगाएपछि नगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जनाइएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति, बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उपप्रमुख सीता कार्की, नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेशबाबु श्रेष्ठ, नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दलगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।