नेपालगञ्ज, ३० बैशाख । बाँकेको कोहलपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । सो नगरपालिकाका सबै बालबालिकालाई पूर्णखोप लगाइपछि आज एक कार्यक्रमका बीच कोहलपुरका मेयर पूर्णप्रसाद आचार्यले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभएको हो ।
तथ्यांक अनुसार, कोहलपुर नगरपालिकामा जन्मदेखि ११ महिनाका एक हजार ९१२ जना बालबालिकाले नियमित रुपमा पूर्णखोप लगाएका छन् । कोहलपुरमा पूर्ण खोप सुनिश्चितताका लागि गरिएको घरधुरी सर्वेक्षणमा १६ महिनादेखि ५९ महिनासम्मका तीन हजार ९९१ जनाले समेत सबै खोप लगाएका छन् ।
सर्वेक्षणका क्रममा १६ देखि ५९ महिनासम्मका ३९ जनाले खोप लगाउन छुटेको पाइएपछि उनीहरुलाई पनि खोप लगाइएको कोहलपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिल सेन ठकुरीले बताउनुभयो ।
पूर्ण खोप सुनिश्चितता कार्यक्रममा बोल्दै मेयर आचार्यले वार्षिकरुपमा पालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गर्ने कार्यक्रम अन्तर्गत यस वर्ष पनि यस्तो घोषणा गरिएको बताउनुभयो । मेयर आचार्यले बालबालिकालाई रोगबाट बच्नका लागि खोप अति आवश्यक भएकाले खोप लगाउनबाट कुनै पनि बालबालिका छुट्न नहुनेमा जोडसमेत दिनुभयो ।
जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्की, कोहलपुर नगरपालिका वडा नं. ११ की वडा अध्यक्ष कल्पना शर्माअधिकारी, स्वास्थ्य कार्यालय बाँकेका निमित्त प्रमुख नरेश श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा जिल्ला खोप समन्वय समितिले कोहलपुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणाको प्रमाणपत्र प्रदान गरेको थियो ।