नेपालगञ्ज, ८ चैत । नेपालगञ्ज उद्योग बाणिज्य संघले नेपालगञ्जमा सुख्खा बन्दरगाह निर्माण हुनुपर्ने माग गरेको छ ।
संघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओली नेतृत्वको काठमाडौं गएको बाँकेको जनप्रतिनिधि, उद्योगी, व्यवसायी सम्मिलित प्रतिनिधि मण्डलले आज नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेललाई सुख्खा बन्दरगाह निर्माण हुनुपर्ने मागसहितको ज्ञापनपत्र बुझाएको हो ।
अर्थमन्त्री पौडेलले सुख्खा बन्दरगाह आवश्यक रहेको बताउँदै डीपीआर गर्न लगाउने बताउनुभएको कार्यवाहक अध्यक्ष ओलीले जानकारी दिनुभयो ।
ज्ञापनपत्रमा नेपालगञ्जको एकीकृत भन्सार जाँचचौकी (आइसीपी) लाई नै सुख्खा बन्दरगाहमा परिणत गरी वैदेशिक व्यापार व्यवसायलाई अभिवृद्धि गर्नुपर्ने माग गरिएको छ ।
ज्ञापनपत्रमा नेपालगञ्जमा सुख्खा बन्दरगाह निर्माण हुनसके तेस्रोे मुलुुकबाट भारत हुँदै नेपाल र नेपालबाट भारत हुँदै तेस्रो मुलुकसम्म आयातनिर्यात (पैठारी) सस्तो र सहज भइ पश्चिम नेपालको औद्योगिक एवम् व्यापारिक विकासमा ठूलो टेवापुग्ने व्यवहोरा उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझाउन प्रतिनिधिसभा सदस्य दीपा शर्मा, केएल दुगडका महाप्रबन्धक प्रदीप छाजेड, दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगड, उद्योगी सञ्जय अग्रवाल र नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव भीमबहादुर रानाभाट सहभागी हुनुहुन्थ्यो ।