नेपालगञ्ज, २० पुस । बाँके जिल्ला फुटबल संघमा मनोनित पदाधिकारी र संघ अन्तर्गतको महिला फुटबल समितिमा मनोनित पदाधिकारीले आज पदभार ग्रहण गरेका छन् ।
नेपालगञ्जमा आज आयोजित कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य एवम् निवर्तमान सामाजिक विकास मन्त्री रत्न खत्री र बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले मनोनित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरी पदभार ग्रहण गराउनुभएको थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य खत्रीले मनोनित पदाधिकारीहरुले बाँकेमा फुटबलको विकासका लागि महत्वपूर्ण योगदान गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
संघका अध्यक्ष शाहीले फुटबलमा योगदान गर्नु भएको व्यक्तिलाई मनोनित गर्न पाउँदा खुसी लागेको बताउनु भयो । उहाँले भन्नु भयो,‘फुटबलको विकासमा योगदान गरेका व्यक्तिलाई हामीले संघमा समेटेको छौं । यसले संघमा निकै उत्साह थपेको छ ।’
पदभार ग्रहण समारोहमा एन्फाका पूर्व उपाध्यक्ष गोर्वद्धनसिंह सम्झना, लुम्बिनी प्रदेश फुटबल संघका सदस्य सुरेश श्रीपाठी, मोहनसिंह थापा, पूर्व राष्ट्रिय खेलाडी प्रसिद्धजंग राणा, निजामुद्दिन सिद्धिकी (मुन्ना), सिद्धान्तजंग राणा लगायतको सहभागिता रहेको थियो ।
संघको गत मंसिर ३० गते बसेको बैठकले कोषाध्यक्षमा सानु तामाङ, सह–महासचिवमा दिर्घराज आचार्य (कौशल), सरिता थापा शाह र सदस्यमा कर्ण बस्नेतलाई मनोनित गरेको थियो । यस्तै, गत पुस १५ गते बसेको बैठकले महिला फुटबल समितिको अध्यक्षमा नितु शाहचन्द, वरिष्ठ उपाध्यक्षमा नागिनदेवी श्रेष्ठ र महासचिवमा सुमित्रा लामिछानेलाई मनोनित गरेको थियो । ।