नेपालगञ्ज, १८ पुस । ध्रुवतारा एजुकेशन प्रालिको सहकार्यमा नेपालगञ्ज उपमहानगरपालिकाले निःशुल्क लोकसेवा आयोग परीक्षाको तयारी कक्षा सञ्चालन गरेको छ । आजदेखि संचालन गरेको तयारी कक्षाको अवधि चार महिनाको हुनेछ ।
अप्राविधिक सेवातर्फ नायब सुब्बा र खरीदार पदको लिखित परीक्षाको पूर्व तयारी कक्षा सुरु गरिएको सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले बताए । २७ जना खरीदार र ४६ जना नायब सुब्बाका लागि दैनिक सवा २ घण्टा कक्षा सञ्चालन हुनेछ ।
कक्षा सञ्चालन शुभारम्भ कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, नगर कार्यपालिका सदस्यद्वय बसन्तकुमार कनोजिया र मुजम्मिलहुसेन हलवाई, सामाजिक विकास शाखा प्रमुख जोशी, जिल्ला अदालत बाँकेका शाखा अधिकृत प्रेम रेग्मी लगायतको उपस्थिति रहेको थियो ।