नेपालगन्ज, ११ पुस । लुम्बिनी कप महिला फुटवल प्रतियोगिताको सचिवालय उद्घाटन गरिएको छ । बिहिबार नेपालगन्जका मेयर प्रशान्त विष्टले नेपालगन्ज रंगशालामा रहेको सचिवालयको उद्घाटन गर्नु भयो ।
अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा आगामी फागुन १९ गतेदेखि २९ गते सम्म नेपालगन्ज रंगशालामा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ ।
‘खेलकुदमा उत्कृष्ट नतिजा निकाल्नुपर्छ । यसका लागि खेलाडीमाथि राज्यले लगानी बढाएर खेलाडीको सम्मान गर्ने वातावरण बनाउनैपर्छ’—मेयर विष्टको भनाई थियो ।
उद्घाटन समारोहमा बाँके जिल्ला फुटवल संघका अध्यक्ष एवम् एन्फा केन्द्रिय सदस्य भोजराज शाहीले लुम्बिनी कप फुटबलले यस क्षेत्रको महिला फुटबलको विकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो ।
आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले पश्चिम नेपालमा महिला महत्वपुर्ण प्रतियोगिताको सुरुआत गर्न लागेको बताउनु भयो । उहाँले भन्नुभयो,‘यो प्रतियोगिता यस क्षेत्रलाई चिनाउने प्रतियोगिता हो । लुम्बिनी कप महिला फुटबल सफल बनाउन म सम्पुर्णलाई हार्दिक अपिल गर्दछु ।’
सचिवालय उद्घाटन समारोहमा लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका निर्वतमान सदस्य सचिव भीम ओली, नेपालगन्ज उप–महानगरपालिका निवर्तमान उपमेयर उमा थापा, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख महेश चन्द लगायतले प्रतियोगिताको सफलतको शुभकामना व्यक्त गर्नु भएको थियो ।
नेपालगन्जरंगशालामा हुने लुम्बिनी कप महिला फुटवलमा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुनेछन् ।
यसैबीच, लुम्बिनी कप फुटवल सचिवालय प्रमुखको जिम्मेवारी रमेश मल्ललाई दिइएको छ । नेपाल राष्ट्र बैंकवाट सेवा निवृत मल्ल सुटिङका पूर्व अन्तर्राष्ट्रिय खेलाडी, बरिष्ठ फोटोग्राफर हुनुहुन्छ । भिडियोग्राफी र एडिटिङमा यस क्षेत्रकै अग्रणी मल्ल सूचना प्रविधिमा राम्रो दख्खल राख्नु हुन्छ । रमेश मल्ल नेपाली खेलाडीको जीवनीमा वनेको पहिलो डकुमेन्ट्री हरिबहादुरका निर्माता मध्ये एक हुनुहुन्छ ।
यसैगरी लुम्बिनी कप महिला फुटबलको सूचना र समाचारलाई व्यापकता दिन तथा संचारकर्मीहरुसँग समन्वय गर्न वरिष्ठ पत्रकार निरजकुमार गौतमलाई प्रचारप्रसार संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
गौतम नेपाल पत्रकार महासंघ बाँकेको पूर्व अध्यक्ष हुनुहुन्छ । राष्ट्रिय समाचार समितिको क्षेत्रीय प्रमुखवाट सेवानिवृत गौतमसँग कम्तीमा ३५ वर्ष पत्रकारिताको अनुभव छ । खेलकुदमा विशेष अभिरुची राख्ने पत्रकार गौतम हाल गोरेटो न्युज डटकमको सम्पादकको रुपमा रहनु भएको छ ।