बर्दिया, १२ पुस । मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरण गर्न जनावरका आनीबानी तथा उनीहरुको रहनसहनबारे सचेतनामुलक कार्यक्रमको आवश्यकता रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् ।
विद्यालय तहबाटै जनावरका आनीबानी तथा उनीहरुको रहनसहनबारे नयाँ पुस्तालाई सिकाउन सके मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न सहज हुने उनीहरुले बताएका हुन ।
बर्दियाको मधुवन नगरपालिका वडा नं. २ स्थित मञ्जुश्री शिशु बाटिका माध्यमिक विद्यालयमा सम्पन्न ‘शुक्रबार वातावरण बार’ कार्यक्रमका सहभागि कक्षा १० का छात्रा सीता थारुले वन वन्यजन्तु तथा वातावरण संरक्षणको कुरा आफुहरुले सिक्न सके यस क्षेत्रमा हुने मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न सहज हुन्छ भन्नुभयो ।
कार्यक्रमका अर्का सहभागि कक्षा १० मा अध्ययनरत विद्यार्थी आर्यन परियारले वातावरण बार अन्तरगत मानव र वन्यजन्तु बिचको सह–अस्तित्वको सम्बन्धबारे जानकारी पाएको बताउँदै वातावरणीय सुरक्षाका बारेमा जान्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्नुयभो ।
कक्षा ९ र १० का ८० जना विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा बिषयविज्ञ मदन ज्ञवालीले छलफलको सहजीकरण गर्नुभएको थियो । उहाँले विद्यार्थीहरुलाई वातावरणको महत्व तथा जैविक विविधताको बिषयमा जानकारी गराउनु भएको थियो ।
युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण अभियान’ को गतिविधीका रुपमा यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रम बाँके र बर्दियामा सञ्चालनमा रहेको छ ।