नेपालगञ्ज, ९ पुस । नेपाल पत्रकार महासंघ बाँके शाखाले आफ्ना सम्पूर्ण साधारण सदस्यलाई मिडिया आबद्धता कायम गर्न आह्वान गरेको छ ।
महासंघ, बाँकेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूका साथै सम्पूर्ण साधारण सदस्यहरूलाई अनिवार्यरुपमा मिडिया आबद्धता कायम गरी संचार कर्म निरन्तररुपमा गर्न आह्वान गरेको हो । बैठकले संचारकर्म गर्दा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न पनि आग्रह गरेको छ ।
शाखाका अध्यक्ष नवीन गिरीको अध्यक्षता एवम् पूर्व अध्यक्षहरुको विशेष उपस्थितिमा बसेको बैठकले मंसिर २८ गते भएको नेपाल पत्रकार महासंघको निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने निर्वाचन समिति, सम्पूर्ण साधारण सदस्य (मतदाता), निवर्तमान कार्यसमिति लगायत सबै सरोकारवालालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।
बैठकले शाखाको सल्लाहकारमा निवर्तमान अध्यक्ष दामोदर भण्डारी र अध्यक्ष पदका निकटतम प्रतिद्वन्दी प्रदिप वाग्लेलाई मनोनित गर्ने निर्णय पनि गरेको छ ।
वैठकमा उपस्थित पूर्व अध्यक्षहरुबाट प्राप्त सुझाव, मार्गनिर्देशनका आधारमा महासंघ बाँके शाखाको संस्थागत विकास तथा पत्रकारहरुको हकहित र व्यवसायिक सुरक्षाका लागि दृढ संकल्पित भएर काम गर्ने निर्णय पनि बैठकले गरेको सचिव कृष्ण ओलीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा पत्रकार महासंघ लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष एवम् शाखाका पूर्व अध्यक्ष शुक्रऋषि चौलागाई, संस्थापक अध्यक्ष लियाकत अलि, पूर्व अध्यक्षहरु हेमन्त कर्माचार्य, निरजकुमार गौतम र झलक गैरेको विशेष उपस्थिति रहेको थियो ।