नेपालगञ्ज, ८ पुस । नेपालगञ्जस्थित भेरी अस्पतालमा आजवाट हेमोग्लाबिनप्याथी कक्ष संचालनमा आएको छ । हेमोग्लाबिनप्याथी कक्षमा सिकलसेल एनिमियाका बिरामीको उपचार हुने बताइएको छ ।
उक्त कक्षको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक समारोहबीच उद्घाटन गर्दै सिकलसेल एनिमियाका बिरामीलाई आवश्यक पर्ने सबैखाले ओखती सरकारले निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।
मन्त्री पौडेलले प्रादेशिक अस्पतालहरुमा समेत सिकलसेलका बिरामीलाई लक्षित गरी डे केयर वार्ड संचालनका गर्न सरकारले आवश्यक गृहकार्य अघि बढाइसकेको बताउनुभयो ।
‘अब छिट्टै बर्दिया अस्पताल, कैलालीको टीकापुर अस्पताल र कञ्चनपुरको महाकाली अस्पतालमा पनि सिकलसेलका बिरामीलाई लक्षित गरेर डे केयर वार्ड संचालन गरिने छ’—स्वास्थ्यमन्त्री पोडेलले भन्नुभयो ।
त्यस अवसरमा अस्पतालका प्रमुख डा. निराजन सुवेदीले अस्पतालले गरेका प्रगति र चुनौति तथा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले सिकलसेल एनिमिया र थालेसिमिया रोगको अवस्था, उपचार र निदानका बारेमा मन्त्री पौडेललाई जानकारी गराउनुभएको थियो ।
अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्रबहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सदस्य डा. डक्ट धितालले र नर्सिङ प्रशासक प्रमुख दुर्गालक्ष्मी श्रेष्ठले बोल्नुभएको थियो ।
यसैबीच, मन्त्री प्रदीप पौडेलको उपस्थितिमा आजै भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा संचालनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकार चन्द्र श्रेष्ठ र भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।