नेपालगञ्ज, १३ मंसिर । बाँकेको बैजनाथ गाउँपालिकास्थित बाल सुधार गृहबाट बालबिजाइँकर्ता फरार भएको घटनाको छानवीन गरि प्रतिवेदन पेश गर्न सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको संयोजकत्वमा पाँच सदस्यीय छानवीन समिति गठन गरिएको छ ।
आज बिहिवार जिल्ला प्रशासन कार्यालय, बाँकेमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरीका डिएसपी, अनुसन्धान विभाग र कारागार प्रशासनका कर्मचारीलाई समितिको सदस्यमा राखिएको छ ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले घटनाको जाँचबुँझ गरी प्रतिवेदन पेश गर्न समितिलाई १५ दिनको समयसीमा समेत तोकेको छ ।
बाल सुधार गृहवाट हिजो बुधवार अपरान्ह पाँच बजे १२ जना बालबिजाइँकर्ता फरार भएका थिए । त्यस मध्ये नौ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने तीन जना अभैm फरार रहेका छन् । यसअघि पनि पुस २६ गते तीन जना बालबिजाइँकर्ता बालसुधार गृहवाट फरार भएका थिए ।