नेपालगञ्ज, १४ मंसिर । बाँकेको राप्तीनदी सिधनियाघाट किनारमा वैकुण्ठधाम निर्माण योजनाका लागि आर्थिक संकलन गर्न आयोजना गरिएको बैकुण्ठधाम आध्यात्मिक महोत्सवमा तीन करोड तीन लाख १५ हजार चार रुपैया दान दक्षिणावापत संकलन भएको छ ।
बहुउद्देश्यीय वैकुण्ठधाम परियोजना निर्माणका लागि गत कात्तिक २२ गतेदेखि ३० गतेसम्म नेपालगञ्जमा आध्यात्मिक महोत्सव आयोजना गरिएको थियो ।
महोत्सवमा संकलित रकम मध्ये विभिन्न शिर्षकमा ७५ लाख सात हजार ३७७ रुपैया खर्च भएको देखाइएको छ । वैकुण्ठधाम आध्यात्मिक महोत्सव मूल समारोह समितिले आज नेपालगञ्जमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको आयव्यय विवरण अनुसार, महोत्सवमा नगद दान बाहेक प्रशान्त विष्टले बाँकेको डुडुवा—४ मा एक कठ्ठा जग्गा र दिपककुमार वर्माले नेपालगञ्ज—१९ मा २६ धुर जग्गा दान गर्नुभएको छ । तर, उक्त जग्गा समितिको नाममा अभैm पास भइनसकेको समितिका कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।
कोषाध्यक्ष श्रेष्ठका अनुसार, संकलित रकम मध्ये सबैभन्दा बढी प्रमुख कथा वाचक पण्डित दिनबन्धु पोखरेल, सहवाचक र यज्ञ ब्राह्मणलाई १४ लाख ६८ हजार रुपैया दक्षिणा प्रदान गरिएको छ । त्यस्तै उनीहरुको खाना खर्चमा रु दुई लाख २४ हजार, आवासा खर्चमा दुई लाख २९ हजार र गुरु र कलाकारका लागि यातायात खर्चवापत ८५ हजार बढी रकम खर्च भएको छ ।
पत्रकार सम्मेलनमा महोत्सव मूल समारोह समितिका संयोजक डा. सुरेशकुमार कनौडियाले अपेक्षा गरे अनुसार दानदक्षिणा संकलन नभए पनि महोत्सव सफलतापूर्वक सम्पन्न भएकोेमा खुशी व्यक्त गर्नुभयो ।