नेपालगन्ज,१३ मंसिर । बर्दियाको गुलरिया नगरपालिकाको वडा नं. १ लाई आज बालविवाहमुक्त घोषणा गरिएको छ । सोही नगरपालिकाको वडा नम्बर ५, ६ र ७ लाई हिजो बालविवाहमुक्त वडा घोषणा गरिएको थियो । यो समेत गुलरिया नगरपालिकाको चार वटा अब बालविवाहमुक्त भएका छन् ।
प्लान इन्टरनेशनल नेपाल, बाँके युनेस्को क्लब र बी ग्रुपको सहकार्यमा गुलरिया नगरपालिकाको वडा नं १ लाई एक कार्यक्रमका बीच बालविवाहमुक्त वडा घोषणा गरिएको हो ।
गुलरिया नगरपालिका वडा नं. १ का अध्यक्ष जोगीराम थारुको अध्यक्षतामा भएको घोषणा सभामा नगर प्रमुख मुक्तिनाथ यादवले गुलरिया नगरपालिकाका सबै वडालाई छिटै बालविवाहमुक्त बनाइने प्रतिबद्धता जनाउनुभयो ।
घोषणा सभामा गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतम, मुख्य प्रशासकीय अधिकृत ओमकार शाहलगायत वडा अध्यक्ष, राजनीतिक दलका नेतागण, धर्मगुरु र सामाजिक अभियन्ताहरुको सहभागिता थियो ।