नेपालगञ्ज, ११ मंसिर । सार्वजनिक स्थानमा फोहर फाल्ने नेपालगञ्जका एक औषधि पसललाई आज जरिवाना गरिएको छ ।
भेरी अस्पताल अगाडी रहेको अंकित मेडिकल हल तथा अल्ट्रासाउण्डले सडकमा फोहर फालेकाले ठाउँका ठाउँ रु पाँच हजार जरिवाना गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो ।
उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा र नगर प्रहरीको टोलीले निरीक्षणका क्रममा सडकमै स्वास्थ्यजन्य फोहोर फालेको पाएपछि नेपालगञ्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम जरिवाना तिराएर कारबाही गरेको बोगटीले बताउनुभयो ।
निरीक्षण टोलीमा स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, फार्मेसी अधिकृत डा. अस्मित आचार्य तथा नगर प्रहरी प्रमुख बोगटी र नगर प्रहरी सहायक निरीक्षक पवन कनोजियाको सहभागिता थियो ।
नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि सार्वजनिक स्थानमा फोहोर फाल्ने नेपालगञ्जको आशिर्बाद पेन्ट्स प्रालिलाई १० हजार रुपैयाँ जरिवाना गरेको थियो ।
नगर प्रमुख प्रशान्त विष्टले जथाभाबी फोहोर फाल्नेलाई कडा कारबाही गरिने उल्लेख गदै फोहोरविरुद्ध शून्य सहनशिलताको नीति अबलम्बन छ भन्नुभयो ।