नेपालगञ्ज, १३ कात्तिक । कृषि तथा पशुपंछी विकास मन्त्री रामनाथ अधिकारीले कृषि अनुदानको दुरुपयोग गर्नेहरुका फाइन खोल्न लागेको बताउनुभएको छ ।
बाँकेको कोहलपुरमा आज मंगलवार आयोजित कार्यशाला गोष्ठी तथा अन्तरसंवाद कार्यक्रममा मन्त्री अधिकारीले ठूलो रकम अनुदान लिएकाहरुको फाइल अध्ययन गर्न तीन सदस्यीय समिति बनाइएको छ भन्नुभयो ।
नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले सरकारले तत्काल मलको कारखाना खोल्ने निर्णय गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल किसान महासंघ बाँकेका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष टेकबहादुर खड्का, कोहलपुर नगरपालिकाका उपप्रमुख संगिता सुवेदीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यस अवसरमा नेपाल किसान महासंघका निवर्तमान अध्यक्ष भानुभक्त भट्टराईलाई सम्मान गरिएको थियो ।
यसैबीच, मन्त्री अधिकारीले बाँकेको खजुरास्थित नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको कृषि अनुसन्धान निर्देशनालयको आज निरीक्षण गर्नुभयो ।
निरीक्षणका क्रममा मन्त्री अधिकारीले किसानसंग नजिक हुने र उत्पादन वृद्धि गर्ने गरी काम गर्नुपर्ने काममा कृषि बैज्ञानिकहरु लाग्नुपर्नेमा जोड दिनुभयो ।