नेपालगञ्ज, १० असोज । नेपालगञ्ज उपमहानगरपालिकाभित्रको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाइने भएको छ ।
दशैं, तिहार, छठ लगायत चाडपर्वहरुलाई लक्षित गरी नेपालगञ्जको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन लागिएको हो ।
सोही सन्दर्भमा आज बिहिवार जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवाला निकायको बैठकले सवारी साधन र सर्वसाधारणको चाप हुने ठाउँहरुमा नवरात्र शुरु हुनु अगाडि नै वन–वे (एकतर्फी वाटो) सञ्चालन गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसार रिजालको अध्यक्षतामा बसेको बैठकले गणेशमान चोकदेखि चारबाहिनी चोकसम्म जाने मात्र र फर्किँदा त्रिशक्ति मार्गबाट मात्र फर्किने गरी वन–वे बाटो सञ्चालन गर्ने निर्णय भएको छ । यो व्यवस्थाका लागि जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय र नगर प्रहरीबीच समन्वयबकारी भूमिका रहने निर्णय बैठकले गरेको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो ।
यसैगरी नेपालगञ्जको मुख्य बजारभित्र सञ्चालन हुने ठेला, इ–रिक्सा लगायत अन्य सवारी साधन ट्राफिक अवरोध नहुने गरी सञ्चालन गराउने, ट्राफिक प्रहरी कार्यालयले नेपालगञ्ज उद्योग बाणिज्य संघसंग समन्वय गरी त्रिवेणी मोडदेखि त्रिभुवन चोकसम्म तीन–तीन दिन पालो गर्ने गरी वन–वे बाटो चलाउन पहल गर्ने, सार्वजनिक बाटोमा यत्रतत्र निर्माण सामग्री राखी बाटो अवरुद्ध गर्ने र ट्राफिक व्यवस्थापनमा असहजता उत्पन्न गराउने कार्यलाई निरुत्साहित गर्ने लगायतका निर्णय समेत बैठकले गरेको छ ।
बैठकमा नेपालगञ्जका मेयर प्रशासन्त विष्ट, जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्की लगायत सशस्त्र प्रहरी, नगर प्रहरीका साथै सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।