नेपालगञ्ज, ११ असोज । नजिकिदै गरेको चाँडपर्वलाई दृष्टिगत गरी बाँकेकोे नरैनापुर गाँउपालिकामा सरकारी टोलीद्धारा बजार अनुगमन शुरु गरिएको छ । सरकारी टोलीद्धारा नरैनापुरमा यसअघि कहिल्यै पनि बजार अनुगमन हुने गरेको थिएन् ।
नरैनापुर वडा नं. १ सुइयाबाट बजार अनुगमन सुरु गरिएको संयोजक मुकद्दरअली मुकेरीले जानकारी दिनु भयो । मुकेरीका अनुसार, गाँउपालिकाले बजार अनुगमन समिति बनाए पनि नियमित रुपमा भने अनुगमन हुन सकेको थिएन् ।
बजार अनुगमनका लागि तयार गरिएका १६ बुँदे मापदण्डमा रही बजार अनुगमन गर्न नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले अनुगमन टोलीलाई निर्देशन दिनुभएको छ ।
अनुगमन टोलीले अबदेखि नियमितरुपमा नरैनापुर क्षेत्रका किराना पसल, व्यवसाय, विक्रीस्थल, गोदाम, उद्योग लगायतमा अनुगमन गर्ने जनाइएको छ । मापदण्ड विपरित व्यापार, व्यवसाय सञ्चालन गरिएको पाइएमा पहिलो चरणमा सचेत गराउने र दोस्रो पटक पनि गल्ति गरेको पाइएमा जरीवानाका लागि सिफारिस गरिने बताइएको छ ।
अनुगमनका क्रममा अहिलेसम्म टोलीले नरैनापुर गाउँपालिकामा दर्ता नभएको, दर्ता भएपनि नविकरण नभएको र साइन बोर्ड नभएको, मुल्य सूँची नराखिएको, लेबल नभएको, नाप तौलको प्रमाणपत्र नभएको भेटिएको अनुगमन टोलीका सदस्य जगतराम यादवले जानकारी दिनुभयो ।
अनुगमनका टोलीमा नरैनापुरका जगतराम यादव, गाँउपालिकाका प्रेस बिज्ञ आलम खान, सुजित तिवारी, हरि पाण्डे, रियाज खान र प्रहरी नयाब निरीक्षक प्रेम अधिकारी, प्रहरी हवल्दार जितेन्द्र केवटको सहभागिता रहेको थियो ।