नेपालगञ्ज, ३ असोज । नेपालगञ्जमा संविधान बाचन कार्यक्रम गरिएको छ ।
संविधान दिवसका अवसरमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र र सार्वजनिक सरोकार कानून व्यवसायी समुहको संयुक्त आयोजनामा संविधान बाचन कार्यक्रम गरिएको हो । कार्यक्रममा नेपाली र अवधी भाषामा संविधान बाचन गरिएको थियो ।
नेपालको सविधान तथा कानून पढ्ने बानी बसाल्न र संविधानको हरेक धारा तथा दफामा भएको व्यवस्थाबारे आम नागरिकले जान्न जरुरी रहेकाले सचेतना अभिवृद्धिका लागि संविधान वाचन कार्यक्रम गरिएको सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले बताउनुभयो ।
कार्यक्रममा सहभागि विभिन्न व्यक्तिहरुले संविधान बाचन गरेका थिए । नेपालको संविधान २०७२ मा रहेको कुल धारा ३०८, भाग ३५, र अनुसुचि ९ सबै बाचन गरिएको थियो ।
कार्यक्रममा नेपालगञ्जका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्की, उच्च अदालत बारका अध्यक्ष चित्रबहादुर शाही, जिल्ला बार अध्यक्ष मेहर सिंह, वरिष्ठ अधिबक्ता सुनिलकुमार श्रेष्ठ, अधिबक्ताहरु लोकबहादुर शाह, बसन्त गौतम, बलबहादुर चन्द, मिरा ददेल, भानुभक्त रिजाललगायतले संविधान बाचन गर्नुभएको थियो ।
त्यस अवसरमा स्टेश्नरी व्यवसायी संघ बाँकेका अध्यक्ष सागर ज्ञवालीले ५० थान नेपालको संविधान पुस्तक उपलब्ध गराउनुभएको थियो ।