नेपालगञ्ज, १६ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्ता पंक्तिले आफुलाई अध्यक्षमा राखिराख्न चाहेको बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल, बाँके शाखाले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले पद भनेको हस्तान्तरण प्रक्रियावाट छाडने र पाउने हुँदैन, यो त पार्टीलाई डोर्याउन सक्ने बिचारवाट तय हुन्छ भन्नुभयो ।
पत्रकारद्धारा सोधिएको एक प्रश्नको जवाफमा पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो—‘नेपालमा अब नयाँ भनेकै आप्नो पार्टी हो, अरु सबै पार्टी पुराना र बिचारले थोत्रा भइसके ।’
माओवादी केन्द्रको अबको लक्ष्य भनेको सत्तामा जाने नभई ‘घर–घरमा माओवादी, जनजनमा माओवादी’ नारा लिएर पार्टीको संगठन मजबुत बनाउनेतर्प केन्द्रीत हुने बताउदै अध्यक्ष प्रचण्डले सरकारको कामको मूल्यांकन गरेर आवश्यक पर्योभने आप्नो पार्टी सडक संघर्षमा समेत जान सक्छ भन्नुभयो ।
यसैबीच, अध्यक्ष प्रचण्डले आज बिहान नेपालगञ्ज रंगशालाको संरचनागत अवस्थाको अवलोकन गर्नुभएको छ । त्यस क्रममा अध्यक्ष प्रचण्डले पश्चिम नेपालमा खेलकुद विकासका लागि नेपालगञ्ज रंगशालाको स्तरोन्नती गर्दै जानुपर्नेमा जोड दिनुभयो ।
रंगशाला अवलोकन टोलीमा माओवादी केन्द्रका नेता शक्ति बस्नेत, पूूर्व खेलकुद मन्त्री महेश्वर गहतराज अथक लगायत खेल पदाधिकारीहरुको सहभागिता रहेको थियो ।