नेपालगञ्ज, ८ भदौ । नेपालगञ्ज, वडा नं. १३ बुलबुलिया शान्तिनगरका स्थानीयले आज शनिवार आप्नो टोलको सरसफाई गरेका छन् ।
टोलका सम्मानित जेष्ठ नागरिक चक्रपाणि देवकोटाको घरवाट दक्षिण-उत्तर र पश्चिम क्षेत्रको करिब २०० मिटर सडकको सरसफाई गरिएको छ ।
बुलबुलिया शान्तिनगर टोल विकास तथा संरक्षण समितिको आयोजनामा गरिएको टोल सरसफाई कार्यक्रममा जेष्ठ नागरिक, युवा तथा महिला गरी करिब १५ जनाको सहभागिता रहेको थियो ।
सरसफाईका लागि स्थानीयहरुको आर्थिक सहयोगमा सफाई सम्बन्धि सामग्री समितिमार्पत खरीद गरिएको थियो । समितिले प्रत्येक साताको शनिवार बिहान ६ बजेदेखि आवश्यकताका आधारमा टोल क्षेत्रको स्थान छनोट गरी सरसफाई गर्ने कार्यक्रम तय गरेको समिति सचिव रामकुमार शर्मा देवकोटाले बताउनुभयो ।
टोल सरसफाईका अलावा सुरक्षाका दृष्टिकोणले सम्वेदनशील स्थानमा सीसी क्यामरा जडान, टोलका पाटीपौवा तथा सार्वजनिकस्थलको संरक्षण तथा सम्बद्र्धन र टोल क्षेत्रमा जठाभावी फोहर गर्ने प्रवृत्तिको अन्त्यका लागि पहिलो चरणमा सचेतीकरण अभियान सञ्चालनको प्रक्रिया पनि समितिले शुरु गरिसकेको छ ।
जनसहभागितामूलक विकासको अवधारणावाट अभिप्रेरित भएर केहि समयअघि स्थानीयहरुको एक वृहत भेलाले नीरज गौतमको अध्यक्षतामा ११ सदस्यीय बुलबुलिया शान्तिनगर टोल विकास तथा संरक्षण समिति गठन गरेको थियो ।
उक्त समितिको संरक्षकमा वडा नं. १३ का अध्यक्ष सुरेशसिंह ठाकुरलाई राखिएको छ । समितिमा संरक्षकको पद पदेन रहने व्यवस्था गरिएको अध्यक्ष गौतमले बताउनुभयो ।