नेपालगञ्ज, ६ भदौ । नेपालगञ्जमा अहिले जुम्लाको स्याउले राम्रो बजार लिएको छ । अर्गानिक मानिने भएकाले नेपालगञ्जमा अहिले जुम्लाको स्याउ अधिक बिक्री हुनेगरेको छ ।
चीन र भारतको स्याउको बढी खपत हुने नेपालगन्जमा केहि वर्षयता जुम्लाको स्याउ पनि आउन थालेको छ । फलफूल व्यापारीहरु अहिले नेपालगञ्जमा जुम्लाको स्याउ धेरै विक्री भइरहेको बताउछन् । जुम्लामा मोटर बाटो पुगेकाले अहिले सडकबाटै स्याउ ल्याउदा सस्तो पर्ने गरेको छ ।
जुम्लावाट दैनिक तीन, चार ट्रक स्याउ आउने गरेको यसका थोक व्यापारीहरु बताउछन् । नेपालगञ्जस्थित गुरुद्धारा रोडमा रहेको नेपाल फलफुल साग सब्जीको थोक मण्डीमा स्याउ आउने गरेको छ । मण्डीबाट फुटकर बिक्रेताहरुले किनेर बजारमा बिक्री गरिरहेको खुद्राव्यापारी असलम अन्सारीले बताउनु भयो ।
अहिले जुम्लाको स्याउले नेपालगञ्जमा राम्रो बजार लिएपछि किसानहरुलाई पनि राम्रो फाइदा पुगेको छ । जुम्लाबाट अहिले एकै जातको स्याउलाई तीन वर्गमा विभाजित गरी नेपालगन्ज पठाउने गरिएको छ ।
नेपालगन्ज आएको जुम्लाको स्याउ यहावाट बर्दिया र कैलालीसम्म पु¥याउने गरिएको छ । नेपालगन्ज बजारमा अहिले जुम्लाको स्याउ १५० देखि २०० रुपैया प्रतिकिलो विक्री हुने गरेको फलफुल व्यापारी मोहम्मद नसिमले बताउनु भयो।
जुम्लाको स्याउ स्वादिलो र अर्गानिक हुने भएकाले पाएसम्म स्याउ पारखीले जुम्ली स्याउ नै रोज्दछन् । जुम्लाको स्याउ अहिले बजारमा ठूलो, मझौला र सानो गरी तीन प्रकारले ग्रेडिङ्ग गरि विक्री भैरहेको छ ।
कर्णाली प्रदेशको जिल्ला जुम्लाका साथै केहि मात्रामा हुम्ला, कालिकोट, डोल्पा र मुगुवाट पनि नेपालगञ्जमा स्याउ आउने गरेको छ । तथापी, नेपालगञ्जका व्यापारी तथा उपभोक्ताहरुले ‘जुम्लाको स्याउ’ नै भन्ने गरेका छन् ।