नेपालगञ्ज, ५ भदौ । संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालगञ्ज रंगशालामा हस्तान्तरण नहुँदै उप्किएको सेन्थेटिक ट्रयाक निर्माणका दोषीमाथि कारवाही हुने बताउनुभएको छ ।
नेपाल प्रेस युनियनले आज नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा मन्त्री चौधरीले भन्नुभयो-‘प्राविधिक टोलीद्धारा ट्रयाक निर्माणको स्थलगत अध्ययन भइरहेको छ । प्राविधिक टोलीले बुझाउने प्रतिवेदनका आधारमा दोषीमाथि कारवाही हुन्छ ।’
पत्रकारद्धारा सोधिएको प्रश्नको जवाफमा मन्त्री चौधरीले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन सकेसम्म तोकिएकै समयमा हुन्छ भन्नुभयो । प्रतियोगिताका कुल ३६ खेल मध्ये सुर्खेतमा २४ खेल मात्र हुनसक्ने भएकाले बाँकी खेल नेपालगञ्जमा खेलाइने सन्दर्भमा छलफल भइरहेको बताउनुभयो ।
पत्रकार सम्मेलनपछि मन्त्री चौधरीले नेपालगञ्ज रंगशालाको निरीक्षणसमेत गर्नुभएको थियो । निरीक्षणका क्रममा मन्त्री चौधरीले रंगशालामा उप्किएको सेन्थेटिक ट्रयाक तत्काल मर्मत गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ ।
सेन्थेटिक ट्रयाक उप्पिएको समाचार सार्वजनिक भएपछि राष्ट्रिय खेलकुद परिषदले राखेपका सदस्य समेत रहनु भएका नेपाल क्रिकेटका पूर्व राष्ट्रिय कप्तान एल.बी. क्षेत्रीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ । समितिले आजै मन्त्री चौधरीलाई प्रतिवेदन बुझाएको छ ।
नेपाली कांग्रेसका नेतासमेत रहनुभएका मन्त्री चौधरीसंग आजै बाँकेका पार्टी कार्यकर्ताले भेटघाट गरेका छन् । नेपालगञ्जस्थित पार्टी कार्यालयमा भएको कार्यकर्ता भेटघाटमा मन्त्री चौधरीले नेपाली कांग्रेसभित्र कुनै सैद्धान्तिक मतभेद नरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो-‘नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु देश, जनता र लोकतन्त्रका पक्षमा सधै एकताबद्ध हुने गरेका छन् ।