नेपालगञ्ज, ४ भदौ । बाँकेको राप्तीसोनारी गाउँपालिका विनौनामा गत शनिबार दुई युवामाथि धारिलो हतियार प्रहार भएको घटनाप्रति नेपाली कांग्रेस बाँकेले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सभापति नारायणप्रसाद गौडेलले आज एक प्रेस विज्ञप्ती जारी गरी घटनाको भत्सर्नासमेत गर्नुभएको छ । ज्यान मार्ने उद्देश्यले भएको सांघातिक हमलाले समाज आक्रान्त भएको उल्लेख गर्दै प्रेस विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा निकायले समयमै अपराधीलाई कानुनी दायरामा नल्याएका कारण यस किसिमका घटना बढ्दै गएको कांग्रेसको निष्कर्ष छ ।’
प्रेस विज्ञप्तिमा घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनामा संलग्न जोसुकै भएपनि कडाभन्दा कडा कारबाहीको माग गरिएको छ ।
यही भदौ १ गते शनिवार राप्तीसोनारी ५ विनौना चोकमा धारिलो हतियार प्रहार हुँदा स्थानीय युवा सन्दिप विष्ट र बैजनाथका सुलभ मल्ल गम्भीर घाइते भएका थिए । उनीहरुको हाल लखनउको अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा संलग्न रहेको आरोपमा एमाले निकट युवा संघ नेपाल बाँकेका अध्यक्ष समेत रहेका राप्तीसोनारी–२ का वडा अध्यक्ष ‘ज्ञानु’ भनिने ज्ञानेन्द्रराज ओलीसहित ४ जनालाई प्रहरीले त्यसैदिन राती नियन्त्रणमा लिइसकेको छ । केही शंकास्पद व्यक्ति भने फरार भएका छन् ।