बर्दिया, ७ असार । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ८ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ ।
गुलरिया नगरपालिकाको सहकार्यमा प्लान इन्टरनेशनल नेपाल र बाँके युनेस्को क्लबको अभियान अन्तर्गत उक्त वडालाई आज बालविवाहमुक्त घोषणा गरिएको हो ।
वडा नम्बर ८ का अध्यक्ष धर्मेन्द्रकुमार बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले सो वडालाई बालविवाहमुक्त घोषणा गर्नुभयो । उहाँका अनुसार, यसअघि गुलरियाको वडा नं. १२ लाई बालविवाहमुक्त घोषणा गरिएको थियो ।
मेयर यादवले गुलरिया नगरपालिकालाई सन् २०८१ सम्म बालविवाहमुक्त नगरपालिका बनाउने लक्ष्य पुरा गर्न सबै वडालाई बालविवाहमुक्त वडा घोषणा गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा उपमेयर सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, बरिष्ठ अधिकृत मुकुन्द अर्याल, महिला तथा बालबालिका शाखा प्रमुख शिला शाह लगायत जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु, धर्मगुरु, पत्रकार, सामाजिक संघसंस्थाका प्रतिनिधि र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
त्यस अवसरमा बाँके युनेस्को क्लबका कार्यवाहक कार्यकारी निर्देशक महेश नेपालीले प्रतिवेदन प्रस्तुत गर्दै बालविवाह न्यूनीकरणका लागि विभिन्न सरोकारवालाहरूले गरेको प्रयासहरू बारे जानकारी गराउनुभयो ।