बर्दिया, ४ असार । विद्यार्थीद्धारा तयार गरिएका विज्ञान प्रविधि इन्जिनियरिङ कला तथा गणित सम्बन्धी सामग्रीहरु बर्दियाको गुलरियामा प्रदर्शन गरिएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहकार्यमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको बालिका सशक्त परियोजना अन्तर्गत गुलरिया नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा बंगलामुखी मावि परिसरमा उक्त प्रदर्शनी राखिएको हो ।
गुलरियाका नगरपालिका अन्तर्गतका १० विद्यालयका विद्यार्थीद्धारा निर्माण गरिएका विज्ञान प्रविधि इन्जिनियरिङ कला तथा गणित सम्बन्धी सामग्री प्रदर्शनमा समावेश गरिएका थिए ।
विद्यार्थीको कला तथा क्षमता प्रतिस्पर्धात्मक रुपमा बाहिर ल्याउन सकुन भन्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
कार्यक्रममा गुलरियका उपमेयर सावित्रा गौतम र शिक्षा शाखा प्रमुख सतिश यादवले विद्यार्थीहरुका लागि प्रदर्शनी ठूलो अवसरमा रुपमा रहेको धारणा राख्नुभयो ।
उक्त प्रदर्शनीमा बंगलामुखी मावि प्रथम, नेपाल राष्ट्रिय शम्भुशरण मावि दोस्रो, गौरीशंकर मावि तेस्रो र महाकबि देवकोटा माबिले चौथो स्थान हासिल गरे भने अन्य ६ विद्यालयले सान्त्वना पुरस्कार स्वरुप नगद सहित केही शैक्षिक सामग्री प्राप्त गरेका छन् ।