नेपालगञ्ज, ३० जेठ । नेपालगञ्जमा व्यवसाय निरन्तर योजना सञ्चालनमा रहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले गतवर्षदेखि यो योजना सञ्चालनमा ल्याएको हो । नेपालको राजपत्रमा प्रकाशित ‘व्यवसाय निरन्तर योजना’लाई देशकै पहिलो योजनाका रुपमा हेरिएको छ ।
शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) संगको सहकार्यमा सञ्चालित सो योजनाका बारेमा आज नेपालगञ्जमा सरोकारवाला पक्षबीच छलफल गरिएको छ । योजनामा समेटिएको विषयबस्तु, त्यसको समीक्षा र थपघट गर्नुपर्ने विषयमा कार्यक्रममा छलफल भएको जनाइएको छ ।
छलफल कार्यक्रममा भूकम्प लगायतका प्रकोपका कारण सिर्जना हुने विपदको अवस्थामा समेत आपतकालीन सेवा लगायत पूर्व तयारी गर्ने उद्देश्यका साथ व्यवसाय निरन्तरता योजना निर्माण गरिएको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।
कार्यक्रममा विषयविज्ञ सुनिलसन शाक्यले योजना कार्यान्वयनको अवस्था, समेट्नुपर्ने अन्य छुटफुट विषय, प्रभावकारी कार्यान्वयनका लागि गरिनुपर्ने पूर्व तयारी लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।
नेपालगञ्ज उपमहानगरपालिकाका विपद् तथा वातावरण समिति संयोजक समिरप्रताप सिंहको अध्यक्षतामा भएको छलफल कार्यक्रममा विपद् तथा वातावरण शाखा प्रमुख प्रकाश डिसीले योजनाको प्रभावकारिता र यसले समुदायमा पार्ने प्रभावका विषयमा जानाकारी गराउनुभएको थियो ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न समितिका संयोजक, महाशाखा एवम् शाखा प्रमुख, रेडक्रसकर्मी लगायतको उपस्थिति थियो ।
युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले बताउनुभयो ।