नेपालगञ्ज, २४ जेठ । नेपालगञ्ज उपमहानगरपालिकामा आजदेखि पाठेघरको मुखको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
चालू आर्थिक वर्षमा नेपालगञ्जका ६, १२, १५, १७, १८, २२ र २३ गरी सात वडामा पाठेघरको मुखको क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको । सोही कार्यक्रम बमोजिम आज वडा नम्बर २३ स्थित सहरी स्वास्थ्य केन्द्रबाट शिविरको सुरुवात गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा कान्ति आरोग्य अस्पताल नेपालगञ्जले निशुल्क शिविर सञ्चालन गर्ने जनाइएको छ । शिविरमा परीक्षण गरिएका मध्ये पाठेघरको मुखको क्यान्सर ‘पोजिटिभ’ देखिएमा सम्बन्धित अस्पतालमा सिफारिस गरिने उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो ।
वडा नं. २३ का अध्यक्ष जबरअली बेहनाको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले शिविरमा आफ्नो समस्या खुलेर बताउन महिलाहरुलाई आग्रह गर्नुभयो ।