कैलाली, २४ जेठ । कैलाली धनगढीका दुई विद्यालयका विद्यार्थीहरुलाई गर्मीवाट जोगिने सामग्री निशुल्क वितरण गरिएको छ ।
युके एड स्टार्ट फण्डको सहयोग र कतार च्यारिटी नेपालसँगको सहकार्यमा बाँके युनेस्को क्लबद्धारा सञ्चालित तातो हावा परियोजना अन्तर्गत धनगढीको भवानी माध्यमिक विद्यालय र सिद्धनाथ माध्यमिक विद्यालयका ८६५ बालबालिकालाई छाता, पानी पिउने बोतल, जीवन जल (ओआरएस) र ग्लुकोज पाउडर जस्ता अत्यावश्यक सामग्री वितरण गरिएको हो । ती दुबै बिद्यालयमा ५१ वटा सिलिंग पंखा पनि जडान गरिएको क्लबका अध्यक्ष रबि तुलाधरले बताउनुभयो ।
कतार च्यारिटी परियोजना संयोजक केफस महर्जनले विद्यार्थीहरूलाई गर्मी लहरका लक्षण त्यसवाट सुरक्षित रहन अपनाउनु पर्ने सावधानीक बारे विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो ।
यसैबीच, बाँके युनेस्को र कतार च्यारिटीको टोलीले उक्त दुबै विद्यालयको परिसरमा बालबालिकाको चिसो र सुरक्षित खानेपानीको सुविधा र हाइड्रेटेड हुनको लागि जडान गरिएको वाटर कुलिङ सिस्टमको पनि अवलोकन गरेको छ ।
टोलीले अत्यधिक गर्मीले मजदुरी गर्न नपाएका धनगढी नगरपालिकाका ५३ विपन्न घर परिवारलाई चामल, तेल, चना, सतुवा, पीठो, चिनी र अण्डा जस्ता खाद्यवस्तुहरू समेत बितरण गरेको छ ।
कार्यक्रममा कतार च्यारिटिका कार्यक्रम प्रबन्धक इर्शाद शेष, परियोजना संयोजकहरु फारिस, क्लबका प्रमुख संरक्षक परवेजअली सिद्दिकी, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ, कार्यकारिणी सदस्य भावकुजंग थापा, कार्यवाहक कार्यकारी निर्देशक महेश नेपाली, कार्यक्रम संयोजक साजिद अली सिद्दिकी, परियोजना अधिकृत नदीम शाहलगायतको सहभागिता रहेको थियो ।