नेपालगञ्ज, २३ जेठ । नेपालगञ्जको वाटरपार्कमा आज बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले आयोजना गरेको कृत्रिम घटना अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहभागिता रहेको थियो । त्यसैगरी कृत्रिम घटना अभ्यासको सहयोगी भूमिकामा नेपाल रेडक्रस बाँकेको पनि सहभागिता रहेको थियो ।
जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार, कृत्रिम घटना अभ्यासमा नेपाली सेनाका ६०, सशस्त्र प्रहरीका ४५, नेपाल प्रहरीका २० र रेडक्रसका स्वयम्सेवकहरु सहभागी थिए ।
स्रोतसाधन, क्षमता र जनशक्तिको प्रभावकारी समन्वय गरेर खोज तथा उद्धारलाई प्रभावकारी बनाउन संयुक्तरूपमा बाढी सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको बताइएको छ ।
बाँकेमा वर्षेनी आउने बाढी र त्यसले पार्ने क्षती न्यूनीकरण गर्ने र सबै सरोकावालाबीचको समन्वय प्रभावकारी वनाउने उद्देश्यले कृत्रिम अभ्यास गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताउनुभयो ।
जिल्ला विपद समितिको तथ्यांक अनुसार, बाँकेमा विभिन्न प्रकोपबाट २५ हजार घरपरिवार र मनसुनजन्य विपद्बाट १५ हजार घरपरिवार प्रभावित हुने गरेका छन् ।
कृत्रिम घटना अभ्यास उद्घाटन कार्यक्रममा नेपालगञ्ज मेयर प्रशान्त विष्ट, प्रजिअ रिजाल नेपाली सेना श्री नम्बर ४ बाहिनीका बाहिनीपति एवं सहायकरथी रोशनशमशेर राणा र रेडक्रसका जिल्ला सभापति गोवद्र्धन सिंह सम्झना, बज्र दलका गणपति एवं प्रमुख सेनानी रविन श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारीद्वय जोरासिंह माझी र लालबहादुर गुरुङ, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्की र सशस्त्रका प्रहरी उपरीक्षक विमल डाँगी लगायतको उपस्थिति रहेको थियो ।
२०८१÷०२÷२३