नेपालगञ्ज, १९ जेठ । बाँकेको कोहलपुरमा बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिता अन्तर्गत आजको उद्घाटन खेलमा नेपालगञ्ज–११ स्पोटिङ क्लब विजयी भएको छ । कोहलपुरको १३ बिगाह फुटबल मैदानमा भएको खेलमा नेपालगन्ज–११ ले इजोन स्पोट्स क्लबलाई ३–० गोलले पराजित गरेको थियो । नेपालगन्ज–११ क लागि सुमित थापाले दुई र भरतबहादुर घर्ती मगरले एक गोल गर्नु भएको थियो ।
जेठ २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालगन्ज–११ स्पोटिङ क्लब, सिटी युथ क्लब, ईजोन स्पोट्र्स क्लब, न्युदपर्ण युवा स्पोट्र्स क्लब, न्यु नलेज स्पोट्स क्लब, एफसी संघारी र कंञ्चनजंगा भिजन स्पोट्स क्लबको सहभागिता रहेको छ ।
आयोजक बाँके जिल्ला फुटबल संघका अनुसार, प्रतियोगिताको विजेता क्लबले आगामी वर्ष हुने बाँके जिल्ला स्तरीय लिग फुटबलमा सहभागिता जनाउने अवसर पाउनेछ ।
यसअघि प्रतियोगिताको कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले उद्घाटन गर्दै कोलहपुरले पछिल्लो समय खेलकुद क्षेत्रको पूर्वाधारसँगै स्तरीय प्रतियोगिता आयोजना गरेर खेलाडीहरुको मनोबल बढाउने काम गरिहेको छ भन्नुभयो ।
संघका अध्यक्ष भोजराज शाहीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा अखिल नेपाल फुटबल संघका पूर्व उपाध्यक्ष गोवर्धनसिंह सम्झना, पूर्व वडा सदस्य शंकर खड्का, नेपाल प्रेस युनियन बाँके अध्यक्ष प्रियास्मृति ढकाल, कोहलपुर नगरपालिका खेलकुद संयोजक बुद्धि थापा, सदस्य किरण विक, कोहलपुर इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक केशवराज रेग्मी लगायतको सहभागिता रहेको थियो ।